हाइलाइट

बागमती प्रदेश सहकारी सम्मेलनः नाम दर्ता आज अन्तिम दिन, कार्यपत्र प्रस्तोता चयन

बागमती प्रदेश सहकारी सम्मेलनः नाम दर्ता आज अन्तिम दिन, कार्यपत्र प्रस्तोता चयन :: Sahakari Akhabar

काठमाडौं । बागमती प्रदेश सहकारी संघको आयोजनामा हुन गइरहेको ‘प्रथम बागमती प्रदेश सहकारी सम्मेलन’को तयारी अन्तिम चरणमा पुगेको छ । संघले यही चैत्र ८ र ९ गते ललितपुरको हेरिटेज गार्डेनमा गर्न गइरहेको सम्मेलनमा प्रस्तुत हुने कार्यपत्र र प्रस्तोताहरु चयन गरेको छ।

सम्मेलनको पहिलो दिन बागमती प्रदेश सहकारी रजिष्ट्रार कुमार तामाङले ‘प्रदेश तथा स्थानीय स्तरका सहकारी सुदृढिकरणमा सरकारः प्रतिवद्धता र कार्यगत एकता, विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् । नेपाल सरकारका पूर्व सचिव प्रतापकुमार पाठकले ‘वित्तीय सहकारीमा व्यवस्थापकीय सवालः परिवर्तित वा यथास्थिति’ र बागमती प्रोस्कूनका सीइओ केशवप्रसाद दाहालले ‘अध्यादेशपछि वित्तीय सहकारीको अवस्था के हुने’ भन्ने विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।

त्यसैगरी सम्मेलनको दोश्रो दिन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले ‘सहकारी नियमन प्रणालीको सुधार र आगामी योजना’, पूर्व सचिव गोपीनाथ मैनालीले ‘प्रदेश तथा स्थानीय अर्थतन्त्रमा उत्पादक सहकारीको योगदानः कानुनी एवं व्यवहारिक पक्ष’ र सहकारी पत्रकार समाजका निवर्तमान अध्यक्ष खिलानाथ दाहालले ‘सहकारीलाई सोचे अनुरुप उत्पादन र उद्यमशीलतामा किन जोड्न सकिएन’ भन्ने विषयमा गोलमेच छलफल सञ्चालन गर्नेछन् ।

उत्प्रेरणात्मक प्रशिक्षक बिके शर्माले ‘कार्यस्थलमा उत्प्रेरणाः सकारात्मक सोच’ विषयमा मोेटिभेशन गर्नेछन् । सम्मेलनमा राष्ट्रिय सहकारी महासंघ, नेफ्स्कून, राष्ट्रिय सहकारी बैंक, बागमती प्रदेश सहकारी विकास बोर्ड, बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समिति, सहकारी महाशाखा प्रमुखहरु, बागमती प्रोस्कून, मन्त्रालय, विभाग र प्रारम्भिक संस्थाका प्रमुख कार्यकारी अधिकृतहरु छलफलमा मोडरेटरको रुपमा रहनेछन । सम्मेलनमा सहभागी हुन चाहने संघसंस्थाले चैत्र ५ गतेसम्ममा नाम दर्ता गरिसक्नुपर्ने संघले जनाएको छ।



Leave a comment