हाइलाइट

किसान बहुउद्देश्यीय सहकारीको ३० औं बार्षिक साधारण सभा सम्पन्न

किसान बहुउद्देश्यीय सहकारीको ३० औं बार्षिक साधारण सभा सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । कैललीको लम्कीमा रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाको ३० औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले एकाइगत रुपमा साधारण सभाको आयोजना गरी गत शुक्रबार निर्णय प्रमाणिकरण सभा गरेको हो ।

संस्थाका अध्यक्ष सुरेन्द्रकुमार शाहको  अध्यक्षता तथा लम्कीचुहा नगरपालिकाका नगर प्रमुख शुसिला शाहीको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको हो ।

सभामा संस्थाले गत आर्थिक बर्षमा २३ करोड ७६ लाख ६१ हजार सामाजिक कर्ममा खर्च गरेको संस्थाका महा–प्रबन्धक डम्बरबहादुर शाहले जनाए । संस्थाले गत बर्ष ५१ हजार ६ सय सदस्यलाई विभिन्न तालिम दिएको जनाए ।

संस्थाको गत आर्थिक बर्षको असार मसान्तसम्म ४५ करोड ८१ लाख शेयर पुँजी, ६० करोड ४६ लाख जगेडा तथा अन्य कोष, ३ अर्ब ९६ करोड ७३ लाख बचत संकलन, ४ अर्ब ५३ करोड ७ लाख ऋण लगानी गरी कुल सम्पत्ति ५ अर्ब ८० करोड ५३ लाख पुगेको छ । संस्थामा ८५ हजार भन्दा  बढी शेयर सदस्य रहेका छन् ।

सभामा संस्थाका अध्यक्ष शाहले २०५२ सालमा बहुउद्देश्यीय प्रकृतीको सहकारी संस्थाका रुपमा स्थापना भएको संस्थाले ३ वटा व्यवसायिक युनिटहरु मार्फत सेवा दिदै आएको बताए ।

स्थापनाकालमा मलखाद र खाद्यान्नको खरिद बिक्री गर्ने गरेको  र संस्थाले २०५४ सालमा नेपाल राष्ट्र बैंकबाट सिमित बैंकिङ्ग कारोबारको स्विकृती लिई बचत तथा ऋण सेवालाई प्रभावकारी रुपमा प्रदान गर्न थालेको उनले जनाए  ।

पछि गएर नेपाल राष्ट्र बैंकले आफ्नो नियमन दायरा परिमार्जन गरि सहकारी संस्थाहरु स्वनियमनमा रहन सक्ने भन्दै नियमन दायराबाट अलग गरेपछि संस्था स्व– नियमनमा रही सेवा प्रवाह गर्दै आएको उनको भनाई छ ।

संस्थाले वित्तिय सेवा प्रवाहमा राष्ट्र बैंकको नियमनमा रहँदा सिकेका राम्रा अभ्यासहरुको पालना गर्दै आएको र जस अनुसार सञ्चालक समितिका पदाधिकारीहरुले संस्थाबाट कर्जा उपभोग गर्न नपाउने ब्यवस्था गरेको जनाए ।

संस्थामा कर्जा कारोबार रहेका सदस्य सन्चालक समितिको कुनै पनि पदका लागि योग्य नरहने तथा कर्जा सूचना केन्द्रले जारी गर्ने साख सूचनाको विश्लेषण गर्ने लगायतका राम्रा अभ्यासहरुलाई संस्थाले निरन्तरता दिदै आएको जनाए ।

सहकारी थिती र नीतिमा चल्नसके विचलन नआउने उनको भनाइछ । संस्थाको मुख्य व्यवसायका रुपमा वित्तिय व्यवसाय रहेको र  हाल ४० वटा शाखा कार्यालय मार्फत सदस्यलाई आधुनिक वित्तिय सेवा प्रदान गदैं आएको उनले जनाए ।

संस्थाले प्रविधिलाई परिष्कृत गर्दै आएको  र मोबाईल बैकिंग, एटीएम, क्यू आर भुक्तानी लगायतका सुविधाहरु समयानुकुल प्रदान गर्ने गरेको शाहको भनाई छ ।

संस्थाले किसान–कोप एग्रो विजनेश ब्राण्ड नाम राखेर  कृषि व्यवसाय सञ्चालन गर्दै आएको  र  एकलौटी व्यवसाय मात्रै नभई कृषक सदस्यलाई जोडेर लैजाने व्यवसाय समेत भएको उनले जनाए ।

संस्थाले सदस्यलाई कृषि सम्बन्धि निःशूल्क तालिम तथा परामर्श दिई उनीहरुको क्षमता अभिवृद्धि गर्ने र  उत्पादनलाई बजार सम्म पुर्याउने काम गरेको उनको भनाई छ ।

त्यसैगरी संस्थाका महा–प्रबन्धक शाहले साधारण सभामा बार्षिक  कार्यक्रम तथा प्रगति सहितको मन्तव्य राखेका थिए । केही सहकारी संस्थाहरुमा देखिएको वेथिति र विसंगतिका कारण समग्र सहकारी क्षेत्र नै बदनाम हुन पुगेका उनको भनाई छ ।

सहकारी संस्थाहरुमा भएको विकृति, विसंगतिलाई नियन्त्रण गर्न नियामक निकायहरुका साथै हामी सहकारी संस्थाका सदस्यहरु पनि जागरुक हुन आवश्यक रहेको उनले जनाए ।

नियामक निकायहरु बीच समन्वय गरी सहकारी संस्थाहरुको प्रभावकारी नियमन हुन आवश्यक रहेको र समयमा नै आवश्यक ऐन, कानून निर्माण गर्न र कडाईका साथ कार्यान्वयन गर्न जरुरी भएको उनको भनाई छ ।

सदस्यहरुलाई केन्द्रमा राखेर योजना बनाई अघि बढिएका कारण सहकारी सफल भएको मुख्य प्रवन्धक शाहले बताए । आगामी दिनहरुमा दीर्घकालिन योजनाहरुको निर्माण गर्दै नयाँ सोच, कार्यक्रम र आयामका साथ अघि बढ्ने उनले जनाए । सदस्यहरुको विश्वास जितेका कारण संस्थाको समग्र वित्तिय सुंचाङ्कहरु वृद्धि भएको उनले जानकारी दिए ।



Leave a comment