विराटनगर । मोरङको विराटनगर ३ मा सञ्चालित सरल बचत तथा ऋण सहकारी संस्था १७ औं बर्षमा प्रवेश गरेको छ । सहकारीले शनिबार विराटनगरमा १६ औं बार्षिक साधारण सभामा सम्पन्न गरेको हो ।
सहकारीका अध्यक्ष गोविन्द निरौलाको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघका बरिष्ठ उपाध्यक्ष रमेश पोखरेलको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा अध्यक्ष निरौंलाले सहकारीको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रस्तुत बार्षिक प्रतिवेदनका अनुसार सहकारीको शेयर पूँजी १ करोड ५५ लाख २५ हजार ७ सय रुपैया छ भने बचत ५ करोड १६ लाख ९२ हजार ९३८ रुपैया रहेको छ ।
सहकारीले ६ करोड ३६ लाख २३ हजार ९५२ रुपैया ऋण लगानी गरेको छ । सहकारीको विभिन्न कोषमा १ करोड ०२ लाख ८६ हजार ४२१ रुपैया रहेको छ ।
सहकारीमा ४४२ जना शेयर सदस्य रहेका छन् । जसमा महिला २६३ जना छन् भने पुरुष १७९ जना रहेका छन् । सहकारीको आफ्नै १ कठ्ठा ३ धुर जग्गा र सो जग्गामा बनेको आफ्नै एकतले पक्की भवन रहेको छ ।
साधारण सभाले अध्यक्षद्धारा प्रस्तुत बार्षिक प्रतिवेदन, कोषाध्यक्ष सुवास संजेलद्धारा प्रस्तुत प्रतिवेदन तथा लेखा सुपरीवेक्षण समितिका संयोजक नोबिन ओझाद्धारा प्रस्तुत लेखा सुपरिवेक्षण प्रतिवेदन पारित गरेको छ ।
साधारण सभाको अवसरमा सहकारीले विभिन्न विधामा शेयर सदस्यहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा असल ऋणि वशन्तकुमार माझी थारु, ज्येष्ठ शेयर सदस्य गीता कार्की र राधेश्याम सिग्देल, असल दैनिक बचतकर्ता लुना थापा र कविराज घिमिरे रहेका छन् ।
त्यसैगरी असल बचतकर्ता गीतादेवी दाहाल पोखरेल, असल बाल बचतकर्ता ओसिका दाहाल, सहकारीका शेयर सदस्यका छोराछोरी मध्ये दश जोड दुईमा उत्कृष्ट अंक ल्याउने मेविषा खड्का र शेयर सदस्यका छोराछोरी मध्ये एसइइमा उत्कृष्ट अंक ल्याउने आशिका राउत रहेका छन् ।
साधारण सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै राष्ट्रिय सहकारी महासंघका बरिष्ठ उपाध्यक्ष रमेश पोखरेलले सहकारी आदर्श अभियान भएकाले सहकारीमा समस्या भित्र्याउने कुरा सोच्न पनि नसकिने बताए । सहकारी अभियान कमजोर नभएर कमजोर बनाउन खोजिएको उनको भनाई छ । ‘सहकारी ठूलो संगठन भएको छ ।
यसमा थोरै समस्या आयो । तर, त्यही थोरैलाई धेरै प्रचार गरियो । जसले गर्दा धेरै जस्तो भयो । राम्रोको प्रचार कम भयो । सहकारीले गरेको राम्रो कामको प्रचार धेरै गर्नुपर्ने आवश्यक छ’, उनले भने ।’
विकसित मुलुकमा सहकारीलाई समृद्धिको अभियानको रुपमा लिने गरेको बताउँदै उपाध्यक्ष पोखरेलले नेपालमा पनि सुखी नेपाली समृद्ध नेपाल बनाउने उदेश्यले सुरु भएको बताए ।
त्यस्तै साधारण सभाको उद्घाट सत्रलाई सम्बोधन गर्दै विराटनगर महानगरपालिका सहकारी शाखाकी रोजी कार्कीले सहकारी संस्थाले नियम कानुनलाई ध्यानमा राखेर संस्था सञ्चालन गर्नुपर्ने बताईन ।
उनले दोहोरो सदस्यताको मुद्धा सर्बोच्चमा विचाराधिन भएपनि विराटनगरका केही सहकारीले दोहोरो सदस्यता हटाएको बताउँदै सरल साकोसले पनि १५ जना दोहोरो सदस्यता भएका शेयर सदस्यलाई हटाएकोमा धन्यवाद व्यक्त गरिन् ।
उद्घाटन सत्रमा विराटनगर महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बासुबहादुर बस्नेत, संस्थापक अध्यक्ष रामप्रसाद घिमिरे लगायतले सम्बोधन गरेका थिए ।
साधारण सभामा सहभागिहरुलाई सहकारीकी उपाध्यक्ष प्रमिला ओझा निरौंलाले स्वागत गरेकी थिईन भने कार्यक्रम सञ्चालन सचिव देवीबहादुर प्रधानले गरेका थिए ।
Leave a comment