हाइलाइट

सहकारी अभियानप्रति विश्वास जगाउने उपायहरूको खोजी गर्न महासंघलाई  विज्ञको सुझाव

सहकारी अभियानप्रति विश्वास जगाउने उपायहरूको खोजी गर्न महासंघलाई  विज्ञको सुझाव :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी महासंघलाई सहकारी अभियानप्रति विश्वास जगाउने उपायहरूको खोजी गर्न विज्ञहरुले सुझाव दिएका छन् । महासंघले सहकारी अभियानको उद्देश्य, प्राथमिकता, र भावी योजनाबारे स्पष्ट पोजिसन पेपर तयार गरी सार्वजनिक गर्नुपर्ने विज्ञ समूहको सुझाव थियो । राष्ट्रिय सहकारी महासंघले पौष ४ गते विज्ञ समूहसंग बैठक बसेको थियो ।

महासंघका अध्यक्ष ओमदेवी मल्लको अध्यक्षता बसेको विज्ञ समुहले सहकारी क्षेत्रको वर्तमान अवस्थालाई मध्यनजर गर्दै समयसापेक्ष ऐन, नियम र नीतिहरूको संशोधन र कार्यन्वयनका लागि बहस र पैरवी गर्नुपर्ने, सहकारी अभियानप्रति विश्वास जगाउने उपायहरूको खोजी गर्ने, देशका ठूला सामाजिक, आर्थिक समस्याहरू समाधान गर्न सहकारीले खेल्न सक्ने भूमिकालाई स्पष्ट र प्रभावकारी बनाउनुपर्ने लगायतका सुझाव दिइएका थिए ।

महासंघकी अध्यक्ष मल्लले वर्तमान समयमा सहकारी क्षेत्रमा देखिएका चुनौती र त्यसलाई समाधान गर्न आवश्यक पहलबारे जानकारी गराएकी थिइन । बैठकमा सहकारी व्यवस्थापन समितिका पूर्व अध्यक्ष काशीराज दाहाल, अधिवक्ता हिमा बस्नेत भट्टराई, राष्ट्रिय किसान आयोगका पूर्व सदस्य रविन्द्र केसी, नेपाल सरकारका पूर्व सचिवद्वय गोपीनाथ मैनाली र शंकर पाण्डे, अर्थविद् डा. चन्द्रमणि अधिकारी र सहकारी विभागका पूर्व रजिष्ट्रार केशव रेग्मीले सहभागिता जनाउनुभएको थियो ।

महासंघकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले महासंघको हालको अवस्था र गतिविधिहरूबारे प्रस्तुतिकरण गरेकी थिइन । विज्ञ समूहको यो बैठकले सहकारी क्षेत्रका विविध चुनौतीहरूको पहिचान र समाधानका उपायबारे ठोस मार्गचित्र तयार गर्न महत्वपूर्ण भूमिका खेलेको महासंघले जनाएको छ ।



Leave a comment