काठमाडौं । राष्ट्रिय सहकारी महासंघको आयोजनामा काठमाडौँमा मंगलबार सम्पन्न बागमती प्रदेश केन्द्रित सहकारी सुशासन प्रवद्र्धनसम्बन्धी प्रादेशिक अभिमुखीकरण गोष्ठीले बागमती प्रदेशका सहकारीको समस्या समाधान पहिलो प्राथमिकता रहेको निस्कर्ष निकालेको छ ।
कूल सहकारीको ३५ प्रतिशत संख्या बागमति प्रदेशमा नै रहेकोले यस प्रदेशको समस्या समाधान गर्दा देशभरि नै महत्वपूर्ण सन्देश जाने गोष्ठीको निस्कर्ष थियो । सहकारी क्षेत्रलाई सुदृढ गर्न सरकार, सहकारी संघ–संस्था, नियामक निकाय र अन्य सरोकारवालाहरुको भूमिकाको स्पष्टता र समन्वय अपरिहार्य रहेको गोष्ठिको ठम्याइ छ ।
सहकारी क्षेत्रका वर्तमान ऐन कानुनलाई समयसापेक्ष पुनरावलोकन गर्ने, सहकारी संस्थाहरूमा पारदर्शिता र जवाफदेहितालाई सुदृढ गर्ने, डिजिटल प्रणालीको व्यापक प्रयोग र गुणस्तरीयता कायम गर्ने, सहकारी सदस्यहरूको विश्वासलाई कायम राख्न सुशासन, वित्तीय पारदर्शिता र सदस्यहरूको हितलाई केन्द्रमा राखेर कार्यक्रम सञ्चालन गर्नुपर्ने निस्कर्ष निकालेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको सहयोगमा भएको कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी सुशासनलाई प्रभावकारी बनाउन सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहेको औल्याए ।
उनले समस्याग्रस्त सहकारीका बचतकर्ताको बचत फिर्ता गर्ने विषयमा गृहकार्य भइरहेको समेत बताए । सहकारीका विषयमा भ्रम फैलाउने विरुद्ध अभियानले सकारात्मक सन्देश प्रभाव गर्नुपर्नेमा जोड दिएका थिए । पूर्व अर्थमन्त्री तथा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. युवराज खतिवडाले प्रमुख वक्ताका रूपमा सहकारी क्षेत्रको सुदृढीकरणका लागि अभियानभित्रबाटै स्वनियमनको विधिलाई मजबुद बनाउनुपर्नेमा जोड दिए ।
राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले सहकारी अभियानको वर्तमान अवस्था, यसको चुनौतीहरू र सुशासन प्रवद्र्धनका उपायहरूबारे आफ्नो धारणा प्रस्तुत गरेकी थिइन् । सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले “सहकारी सुशासन प्रवद्र्धनः सरोकारवाला निकायहरूको भूमिका” शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रमको मुख्य आकर्षण प्यानल छलफल रहेको थियो । जसमा राष्ट्रिय सहकारी विकास बोर्डका सदस्य सचिव डा. खगराज शर्मा, बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरे र काठमाडौं महानगरपालिका सहकारी शाखा प्रमुख नमराज ढकाल सहभागी थिए ।
छलफलको सञ्चालन महासंघकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले गरेकी थिइन । महासंघका पूर्व अध्यक्ष तथा पूर्व मन्त्री केशव बडाल, पूर्व अध्यक्ष दीपकप्रकाश बाँस्कोटा, निवर्तमान अध्यक्ष मिनराज कडेल र उपाध्यक्ष डिवी बस्नेतले सहकारी क्षेत्रको सशक्तीकरण र प्रवर्धनका लागि आफ्ना विचार राखेका थिए ।
Leave a comment