काठमाडौं । राष्ट्रिय सहकारी महासंघको आयोजनामा बागमती प्रदेश केन्द्रीत सहकारी सुशासन प्रवर्धन सम्वन्धी कार्यक्रम हुनेभएको छ । प्रादेशिक अभिमुखिकरण कार्यक्रम पुस २ गते काठमाडौंको होटेल बद्रिनाथ, गौशालामा सञ्चालन हुने भएको हो । देशभरका सहकारी संस्थाहरूमा ३५ प्रतिशत यस प्रदेशमा रहेको र २७ लाखभन्दा बढी सहकारी सदस्य बागमती प्रदेशमा रहेका छन् ।
कुल शेयर पुँजीको ५४.६४ प्रतिशत, बचतको ४५ प्रतिशत र कर्जा पोर्टफोलियोको ४६ प्रतिशत बागमती प्रदेशका सहकारी संस्थाहरूले ओगटेकाले पनि पहिलो चरणमा बागमती प्रदेश केन्द्रीतकार्यक्रम गर्न लागिएको महासंघका अध्यक्ष ओमदेवी मल्लले बताइन् । उनले सहकारी क्षेत्रमा सुशासन प्रवद्र्धन र नयाँ दिशानिर्देश प्राप्त गर्न यो कार्यक्रम महत्वपूर्ण हुने अपेक्षा गरिएको जनाइन् ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोगमा आयोजना हुने यस कार्यक्रममा सहकारी सुशासन प्रवद्र्धनमा सरोकारवालाको भूमिका स्पष्ट पार्ने र प्रदेशभित्रका चुनौतीहरूको समाधान खोज्ने मुख्य उद्देश्य रहेको अध्यक्ष मल्लको भनाइ छ ।
कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री माननीय बलराम अधिकारीले विशेष सम्बोधन गर्नेछन् । सहकारी अभियानलाई नजिकबाट नियालेका पूर्व अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. युवराज खतिवडा प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन् ।
अध्यक्ष मल्लले सहकारी अभियान र यसको पछिल्लो चुनौतीका विषयमा आफ्नो विचार प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले “सहकारी सुशासन प्रवद्र्धनः सरोकारवाला निकायहरूको भूमिका “शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नेछन् । सहकारीका वर्तमान समस्या र समाधानका उपायहरूमाथि केन्द्रित प्यानल छलफल कार्यक्रमका अर्को मुख्य आकर्षणका रुपमा रहेको छ ।
प्यानल सदस्यहरू राष्ट्रिय सहकारी विकास बोर्डका सदस्य सचिव डा. खगराज शर्मा, बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयका रजिष्ट्रार राजन पोखरेल, बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरे, काठमाडौं महानगरपालिका सहकारी शाखा प्रमुख नमराज ढकाल रहेका छन् । कार्यक्रमको संयोजन महासंघकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले गर्नेछिन् ।
Leave a comment