भक्तपुर । शुभकामना बचत तथा ऋण सहकारी संस्थाको २३औं बाषिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रामप्रसाद कासुलाको अध्यक्षता र भक्तपुर क्षेत्र नं २ का संघिय सांसद दुर्लभ थापाको प्रमुख आतिथ्यतामा साधरण सभा सम्पन्न भएको हो ।
सभामा विभिन्न विद्यालयमा अध्ययनरत ८, १० र १२ कक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई छात्रवृत्ति र सम्मान प्रदान गरेको छ । त्यसैगरी ज्येष्ठ सदस्यहरुलाई पनि सम्मान गरिएको छ । आगामी वर्षदेखि एमडी र पिएचडी गर्ने सदस्यहरुलाई पनि सम्मान र पुरस्कार प्रदान गर्ने जानकारी दिइयो ।
संस्थाका सञ्चालक धर्मरत्न शाक्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै गत आर्थिक बर्षको असार मसान्तसम्म शेयर पुँजी १० करोड ७० लाख ३९ हजार, जगेडा तथा अन्य कोषमा १६ करोड २२ लाख ९४ हजार रहेको जानकारी दिए । त्यसैगरी संस्थाले बचत संकलन ९२ करोड ६४ लाख ८९ हजार, ऋण लगानी ९५ करोड ४ लाख गरेको जनाइएको छ ।
संस्थाको कुल सम्पति १ अर्ब २७ करोड ७४ लाख पुगेको संस्थाले त्यस अवधिमा खुद नाफा २ करोड ६० लाख आर्जन गर्न सफल भएको सभामा जानकारी दिइयो ।

सभामा प्रमुख अतिथि थापाले सहकारी मुल्य मान्यता र सिद्धान्त अनुसार सञ्चालन भएर शुभकामना साकोसले सदस्यको जीवनस्तर परिवर्तन सकेकोमा खुलेर प्रशंशा गरे । पछिल्लो समय सहकारीमा विकृति मौलाएको भन्दै उनले जुनुसुकै संस्थामा सदस्य नबन्न सुझाए ।
संस्थाका अध्यक्ष कासुलाले कतिपय सहकारी संस्थाले तरलता लगायतको समस्या भोगिरहेको अवस्थामा संस्थाले भने सदस्यको आवश्यकता अनुसार जतिसुकै रकम झिक्न सक्ने व्यवस्था मिलाएको उनको भनाई छ ।
केही व्यक्तिवादी र सुशासनमा नचेलका सहकारी संस्थाका कारण सहकारीप्रति सदस्यको विश्वास घटेकाले समुदायमा चलेका सहकारी संस्थालाई पनि त्यसको सामान्य प्रभाव परेको उनले बताए ।
संस्थाका सचिव पुष्पलाल तिमिलाले आर्थिक वर्ष २०७९ / ८० को बार्षिक प्रगति प्रतिवेदन तथा आगामी वर्षको नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरेको थिए ।
संस्थाले गत आर्थिक बर्षमा मिठाई बनाउने तालिम, नि शुल्क दन्त शिविर, शिक्षा शिविर तथा रक्तदान, बृहत्त सहकारी साईकल र्याली, वृक्षारोपण, हाडजार्नेनी तथा नशा रोग सम्बन्धि स्वास्थ्य शिविर, जेष्ठ नागरिक भ्रमण जस्ता थुप्रै गतिविधिहरु गरेको उनले जानकारी गराए ।
Leave a comment