काठमाडौं । राष्ट्रिय सहकारी महासंघका संस्थापक अध्यक्ष दिपकप्रकाश बास्कोटा ‘सहकारी अभियन्ता’ सम्मानबाट सम्मानित भएका छन् । बागमती प्रदेश सहकारी संघले तेस्रो साधारण सभाको अवसर पारेर बास्कोटालाई सम्मान गरेको हो ।
सहकारी अभियानको विकास र प्रवद्र्धनका लागि लामो समयदेखि लागिपरेको भन्दै बाँस्कोटालाई सम्मान गरेको संघका अध्यक्ष रामशरण शर्मा घिमिरेले बताए । यसै अवसरमा संघले प्रदेशका अन्य संघ संस्थालाई सम्मान तथा पुरस्कृत गरेको छ ।
जिल्ला सहकारी संघ दोलखा उत्कृष्ट प्रदेश संघका रुपमा पुरस्कृत भएको छ भने, लुभु ललितपुरको कल्याणकारी बचत तथा ऋण सहकारी उत्कृष्ट सहकारी संस्था भएको छ । उत्कृष्ट महिला सहकारी संस्थाको रुपमा लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था पनौती सम्मानित भएका छन् ।
प्रदेश भरका संघहरु मध्येबाट प्रदेश उत्कृष्ट व्यवस्थापकमा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका प्रमुख कार्यकारी अधिकृत केशव प्रसाद दाहाल र प्रारम्भिक सहकारी संस्थाहरु मध्येबाट उत्कृष्ट व्यवस्थापकमा हाम्रो चित्रवन बचत तथा ऋण सहकारी संस्थाका उमेश पौडेल सम्मानित भएका छन् । संघले यस बर्षबाट विभिन्न विधामा व्यक्ति तथा संस्थालाई सम्मान सुरु गरेको हो ।
Leave a comment