Sahakari Akhabar

आभाष सहकारीको एकाइगतरुपमा १४ औं बार्षिक साधारण सभा सम्पन्न

आभाष सहकारीको एकाइगतरुपमा १४ औं बार्षिक साधारण सभा सम्पन्न :: Sahakari Akhabar

बनेपा । आभाष बचत तथा ऋण सहकारी संस्थाले एकाइगतरुपमा १४ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाले गत भाद्र २२ गते पनौती, भाद्र २३ गते नमोबुद्ध र भाद्र ३० गते बनेपामा साधारण सभा गरेको हो ।

संस्थाका अध्यक्ष दिनेशराज कायष्ठको अध्यक्षता एवं बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । सभामा अध्यक्ष कायष्ठले संस्थाले नाफालाई मात्र नहेरी समाजप्रतिको उत्तर दायित्व महशुस गरी २०७४ सालबाट छोरी अभियान सञ्चालन गरेको बताए ।

संस्थाले स्वस्थ र समुन्नत समाज तथा लैगिंक समानता हासिल गर्नको लागि प्रयास गर्दै आएको उनको भनाई छ । संस्थाले छोरी कार्यक्रम अन्तर्गत प्रत्येक नयाँ बर्ष र संस्थाको बार्षिक उत्सवका दिन शिर मेमोरियल अस्पतालमा जन्मेका पहिलो छोरीहरुलाई १० हजार प्रदान गर्दै आएको छ ।

त्यसैगरी संस्थाले सदस्यहरुको स्वास्थ्य उपचारको लागि सदस्यहरुकै आर्थिक सहभागितामा आभाष सदस्य सुरक्षा कार्यक्रम लागू गरेको छ । गत आर्थिक वर्षमा उक्त कार्यक्रम अन्तर्गत ११३ जना सदस्यहरुलाई विभिन्न रोगको उपचार लागि ९ लाख ५७ हजार प्रदान गरेको प्रतिवेदनमा उल्लेख छ ।

केही सीमित सहकारीहरुले अस्वस्थ प्रतिस्पर्धा गरी अनियन्त्रित तथा नियम विपरित ढंगबाट बचत संकलन तथा ऋण लगानी, सदस्यको बचत अपचलन र गैर सदस्यसँग कारोबार गर्दा समुदाय र सदस्य केन्द्रीत सहकारीलाई पनि त्यसको  प्रभाव परेको उनको भनाइ छ ।

अस्वाभाविक ब्याजको पछि नलागी विश्वासनीय र समुदायमा रहेको सहकारीमा मात्र बचत गर्न उनले सदस्यहरुलाई आग्रह गरे । संस्थाको कारोबारलाई छिटोछरितो बनाउन प्रविधिको प्रयोग गरिएको र दक्ष कर्मचारीबाट सदस्यहरुलाई सेवा प्रवाह हुँदै आएको उनको जनाए ।

संस्थाका सचिव प्रकाश कायष्ठले वार्षिक प्रतिवेदन सभामा पेश गरेका थिए । उनले संस्थाले प्रदान गर्ने वस्तु तथा सेवा, बचत तथा ऋण लगानी, सदस्य सुरक्षा कार्यक्रम, समुह गठन र मोबाइल बैंकिङका बारेमा सदस्यलाई जानकारी गराए । संस्थाले यस आर्थिक वर्षमा सेवा केन्द्र विस्तार, सहकारी शिक्षा शिविर, ज्येष्ठ सदस्य सम्मान, महिला समुहहरुलाई सक्रिय बनाउने जस्ता योजना अघि सारेको छ ।

संस्थाका कोषाध्यक्ष धर्मभक्त प्रधानले गत आर्थिक वर्ष २०७९।८० को आर्थिक प्रतिवेदन सभामा पेश गरेका थिए । संस्थाले गत आर्थिक वर्षमा ६।५७ प्रतिशतले कुल सम्पत्तिमा वृद्धि गरी ७१ करोड ६४ लाख पुर्याएको बताए । त्यसैगरी शेयरपुँजी ३ करोड ८१ लाख, बचत संकलन ६० करोड ७२ लाख र ऋण लगानी ५९ करोड २९ लाख गरेको सभालाई उनले जानकारी दिए ।

संस्थाले गत आ।व।मा ७७ लाख ९० हजार खुद मुनाफा आर्जन गर्न सफल भएको छ । त्यसैगरी संस्थाको जगेडा कोषमा २ करोड ३० लाख र जोखिम व्यहोर्ने कोषमा २ करोड ८० लाख पुगेको छ । संस्थाले ४४ वटा महिला समुह गठन गरेको छ भने उनीहरुका लागि सीपमूलक तालिमका साथै स्वास्थ्य शिविर समेत सञ्चालन गर्दै आएको छ । संस्थाले दुईवटा सेवा केन्द्र र मुख्य कार्यालयबाट सदस्यहरुलाई सेवा दिँदै आएको छ ।



Leave a comment