काठमाडौं । बागमती प्रदेश सहकारी संघको तेश्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । संघका अध्यक्ष रामशरण शर्मा घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जन रहेका थिए ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले सहकारी सुधार सुझाव कार्यदलले अल्पकालिन, मध्यकालिन र दीर्घकालिन सुधारका बुँदाहरु समेटेर सरकारलाई बुझाएको र समस्या समाधानमा प्रधानमन्त्री दाहालले प्रतिवद्धता जनाएको बताए । कार्यदलले दिएको सुझाव कार्यान्वयन भए अहिलेका समस्या हल हुने उनले बताए । सहकारीको यकिन तथ्यांक नभएकाले वास्तविक तथ्यांक निकाल्नका लागि पनि प्रतिवेदनमार्फत सरकारलाई सुझाइएको उनको भनाई छ ।
कार्यक्रममा महासंघ संस्थापक अध्यक्ष दिपकप्रकाश बाँस्कोटाले ३ तहको सरकारले आआफ्नै ऐन बनाएर लागु गरेकाले सहकारी उँटजस्तै त हुने होइन भन्ने चिन्ता व्यक्त गरे । हरेक पालिका र प्रदेशले ऐन नियम बनाउँदा सहकारीको मर्म मर्ने भन्दै संघीय सरकारलेनै ऐन लागु गर्नु उपयुक्त हुने उनको राय छ ।
महासंघका सञ्चालक डिबी बस्नेतले सरकारले बजेटमार्फत एक वडा एक उत्पादनको कार्यक्रम ल्याएकाले बजेट कार्यान्वयनको अवस्था र कार्यविधि अध्ययन गरेर सहकारीमार्फत् उक्त कार्यक्रम लागु गर्न प्रयास गरिरहेको जनाए ।
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के बी उप्रेतीले सहकारी क्षेत्र सुधारका लागि कार्यदलले थुप्रै राम्रा सुझाव दिएको र कार्यान्वयन भए अभियानले सही बाटो पक्रने उल्लेख गरे ।
कार्यक्रममा नेफ्स्कुनका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सदस्यको सन्तुष्टिको लागि सहकारीले काम गर्न सकेन भने संघ, महासंघ रहनुको कुनै अर्थ नहुने बताए । सदस्यको सन्तुष्टिका विषयमा संघहरुले पनि भूमिका खेल्नुपर्ने र प्रारम्भिक संस्थाहरुलाई नीतिगत रुपमा सघाउनुपर्ने उनको भनाई छ ।
सभामा संघका अध्यक्ष राम शरण शर्मा घिमिरेले संघ स्थापना भएपछि सहकारीको पक्षमा बहस र पैरवी गर्नुका साथै प्रारम्भिक संस्था र जिल्ला संघहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको बताए ।
कार्यक्रममा संघका महासचिव भीमप्रसाद दाहालले वार्षिक प्रतिवेदन र आगामी कार्यक्रम प्रस्तुत गर्दै सदस्यता वृद्धि गरी ५ सय पुर्याउने लक्ष लिएको बताए । त्यसैगरी शिक्षा, तालिम, साझेदारी कार्यक्रम, संघसंस्थाको प्रवद्र्धन तथा अनुगमन र सहकारीको तथ्यांक संकलनमा सबै पक्ष मिलेर काम गर्नुपर्ने उनको भनाई छ ।
सभामा कोषाध्यक्ष टिकाराम भट्टराईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संघका लेखा सुपरीवेक्षण समितिको तर्फबाट संयोजक नेत्रराज पौडेलले समितिको प्रतिवेदन प्रस्तुत गर्दै संघले तालिम तथा गोष्ठी शुरु गरेको र यसलाई निरन्तरता दिन सके सहकारीकर्मीको क्षमता अभिवृद्धि भई अभियान सुदृढ हुने बताए ।
बागमती प्रदेशमा राम्रा काम गर्ने संस्थाका साथै कमजोरी र समस्या पनि रहेकाले त्यसलाई समाधान गर्न संघको भूमिका बढाउनुपर्ने बताए । संघमा हालसम्म ३३५ सदस्य आवद्ध रहेका छन् भने ५३ लाख ९५ हजार शेयरपुँजी र ५८ करोड २९ लाखको वासलात पुगेको छ ।
सभामा संघका वरिष्ठ उपाध्यक्ष जगतलाल महर्जनले स्वागत मन्तब्य राखेका थिए भने संघका सचिव देवराज न्यौपानेले सभाको सञ्चालन गरेका थिए ।
Leave a comment