म्याग्दी । म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा राष्ट्रिय सहकारी बैंकको शाखा सञ्चालन गर्न स्थानीय सहकारीकर्मीहरुले माग गरेका छन् । जिल्लामा सहकारी बैंकको शाखा सञ्चालनमा सहजीकरणका लागि बैंकद्वारा गठित जिल्ला सम्पर्क समन्वय उपसमितिको मंगलबार बेनीमा सम्पन्न पहिलो वैठकले सहकारी बैकको शाखा तत्काल सञ्चालनका लागि माग गर्ने निर्णय गरेको हो ।
म्याग्दी र पर्वतको जलजलाका सहकारीहरुलाई सहकारी बैंकको सेवा प्रवाहका लागि बैंकको शाखा बेनी बजारमा आवश्यक रहेको र शाखा नभएका सहकारीहरुलाई वित्तीय रुपमा थप प्रभावकारी बनाउन नसकिएको जिल्ला सम्पर्क समन्वय उपसमितिका संयोजक रमेश गिरीले बताए ।
सहकारी बैंकको शाखा रहेका स्थानहरुमा सहकारीहरुको वित्तीय कारोबारमा सहजतासंगै संस्थागत विकासमा समेत सहयोग पुगेको देखिएको, बेनीमा शाखा नभएका कारण कारोबार अन्यत्र गर्नु पर्ने वाध्यता रहेको छ भन्दै उनले बैंकको शाखा सञ्चालन भएपछि सहकारीहरुको क्षमता विकास र अन्य विषयमा सहजीकरण गर्न समेत सहयोग पुग्ने बताए ।
कार्यक्रममा बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले बैंकको शाखा बेनीमा सञ्चालनका लागि बैंककातर्फबाट आवश्यक निर्णय गरी नियमनकारी निकायमा अनुमतिका लागि अनुरोध गरिएको बताए ।
बेनीमा सहकारी बैंकको शाखा सञ्चालनमा सहजीकरण गर्नका लागि गठित जिल्ला सम्पर्क समन्वय उपसमितिका संयोजक, सदस्य तथा सल्लाहकारहरुलाई बैंकका सञ्चालक जिसीले मनोनयन पत्र प्रदान गरेका थिए ।
कार्यक्रममा बैंकको बागलुङ शाखाका प्रमुख युवराज त्रिपाठीले शाखाको समग्र अवस्था र शाखामार्फत बेनीमा भइरहेको कारोबारका बारेमा जानकारी गराए ।
Leave a comment