बागलुङ । राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाले शुक्रवार बलेवामा आयोजना गरेको बलेवा क्षेत्रका सहकारीका सञ्चालकहरुको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागीहरुले सहकारीका सदस्यहरुलाई बढी ब्याजको प्रलोभन देखाउने, ऋण लगानीमा अनावश्यक प्रतिस्पर्धा गर्ने विकृति भएको बताए ।
त्यसैगरी सदस्य शिक्षाका कार्यक्रम सञ्चालन नगर्ने, नाफाका लागि मात्रै सदस्य बन्ने लगायतका समस्या देखिएको भन्दै सहकारीको अनुगमनलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका थिए । कार्यक्रम राष्ट्रिय सहकारी बैंकका संचालक रामबहादुर जिसीले गरेका थिए ।
सहकारीको उद्देश्य केन्द्रीय व्यवसाय सञ्चालन गर्ने, सहकारीहरुमा आउने समस्या समाधानका लागि सहकार्य र समन्वय गर्ने, उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने, सञ्चालकहरुले मान्नु पर्ने विधि प्रक्रियाको पूर्ण पालना गर्ने तथा प्रविधिको प्रयोगमा ध्यान दिन सके सहकारीमार्फत धेरै काम गर्न सकिने सहभागीले बताएका थिए ।
कार्यक्रममा जैमिनी नगरपालिका र बागलुङ नगरपालिका वडा नं. १२, १३ र १४ बलेवा क्षेत्रका १२ वटा सहकारी संस्थाका अध्यक्ष, सञ्चालक र व्यवस्थापक गरी ४० जनाको सहभागिता रहेको थियो । बलेवा एकता वचत तथा ऋण सहकारी संस्थाको संयोजनमा सम्पन्न कार्यक्रममा स्वागत संस्थाका प्रवन्धक भरत पौडेल र सञ्चालन राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाका प्रमुख युवराज त्रिपाठीले गरेका थिए ।
Leave a comment