बागलुङ । बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठले बागलुङका सहकारी सुरक्षित रहेको बताएका छन् । सोमबार बागलुङमा आयोजित ६६ औँ राष्ट्रिय सहकारी दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख श्रेष्ठले पछिल्लो समय धेरै सहकारीमा समस्या देखिएको बताए।
सहकारीलाई व्यवस्थित गराउनका लागि संचालक र कर्मचारीे इमान्दार पूर्वक लाग्नु पर्नेमा उनले बताए । केही समयदेखि तरलता अभावका कारण धेरै सहकारीमा सामान्य समस्या देखिएपनि बागलुङका सहकारीले सेयर सदस्यलाई निरन्तर सेवा दिइरहेको बताए ।
“सहकारी संचालकहरुको नियत खराब हुनु भएन, अहिलेसम्म बागलुङका सहकारीहरुले अनियमिता गरेको पाइएको छैन, यहाँका सहकारी र सहकारीकर्मीहरु इमान्दर भएर लाग्नु भएको छ,” प्रमुख श्रेष्ठले भने “सहकारीले नाफामुलक भन्दा पनि सेवा मुलक काम गर्नु पर्छ, उत्पादन मुलक कार्यमा बढी जोड दिनु पर्छ ।”
कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटा, राष्ट्रिय सहकारी बैंक संचालक रामबहादुर जिसी, नेफ्स्कुनका सञ्चालक चण्डीप्रसाद शर्मा पौडेल, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका संचालक दीपक गौतम, स्वास्थ्य सहकारी संघ बागलुङका अध्यक्ष सीता शर्मा, बागलुङ नगरपालिका वडा नं. १४ का अध्यक्ष चक्रबहादुर खत्री लगायतले शुभकामना राखेका थिए ।
वक्ताहरुले सहकारीलाई व्यवसायिक रुपमा सक्षम बनाउन, आन्तरिक सुशासनलाई व्यवस्थित गराउदै आम सदस्यहरुलाई निर्धक्क कारोबार गर्ने वातावरण बनाइएको बताए ।
सहकारी, बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर व्यवसाय गरेकाहरु मध्ये केही व्यक्तिहरुले ऋण नतिर्नका लागि विभिन्न खाले गतिविधि गरेको प्रति इंगित गर्दै वक्ताहरुले सहकारीका सदस्यहरुले गास कटाएर गरेको वचतबाट ऋण लिएर ऋण तिर्दैनौ भन्ने गरेकोले त्यस्ताहरुलाई सामाजिक रुपमा बहिष्कार गर्न, ठाउँका ठाउँ त्यस्ता व्यक्तिहरुको प्रतिवाद गर्न सहकारीकर्मीहरुलाई आव्हान गरेका थिए ।
Leave a comment