हाइलाइट

गुहेली सञ्चार सहकारीले दिर्घकालिन वचत शुरु गर्ने

गुहेली सञ्चार सहकारीले दिर्घकालिन वचत शुरु गर्ने :: Sahakari Akhabar

बागलुङ । बागलुङको गुहेली युनिक सञ्चार सहकारी संस्थाले नयाँ वर्षदेखि शेयर सदस्यहरुका बीचमा दिर्घकालिन वचत अभियान सञ्चालन गर्ने भएको छ । संस्थाले वचत तथा ऋणसंगै जन निगरानी साप्ताहिक पत्रिका र खबर वे अनलाईन सञ्चालन गर्दै आइरहेको छ।

संस्थाले शुक्रवार काठेखोला गाउँपालिका वडा नं. २ भीमापोखरामा आयोजना गरेको वित्तीय साक्षरता तथा समसामयिक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष खिम बहादुर कार्कीले छिटै दिर्घकालिन वचत अभियान सञ्चालन गरिने जानकारी गराए ।

बागलुङ नगरपालिका र काठेखोला गाउँपालिका कार्यक्षेत्र भएको सहकारीमा ९ सय जना शेयर सदस्य रहेका छन् । सदस्यहरुका बीच दैनिक, साप्ताहिक र मासिक लगायतका वचत खाताहरु रहेका छन्, तर अब सहकारीमा दिर्घकालिन खालका वचतहरुको योजना आवश्यक ठानेर अभियान सञ्चालनका लागि कार्यविधि समेत तयार पारिएको कार्कीको भनाइ छ।

वित्तीय साक्षरता कार्यक्रममा सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारीहरु ठुलो वचतमा केन्द्रीत भएकाले तरलताको समस्या आएको बताए । ठुलो ठुलो वचत गर्नेहरुलाई ब्याज पनि बढि दिनु पर्ने र एकजनाले रकम फिर्ता गर्दा ठुलो रकम जाने भएकाले तरलताको निरन्तर समस्या पर्ने उनको भनाइ थियो ।

अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै काठेखोला गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष विद्यापती शर्माले सहकारीहरुले स्थानीय वासिन्दालाई उत्पादनमा केन्द्रीत गराउने, घरमा उत्पादन गरेको वस्तु खाने बानीको विकास गराउने तथा आयआर्जन गरेको रकम दिर्घकालिन रुपमा वचत गर्ने बानीको विकास गराउनु पर्ने बताए । उनले वडा कार्यालयले सहकारीहरुसंग समन्वय गरेर कृषि र पशुपालन क्षेत्रको विकासमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सञ्चालक तथा बागलुङ दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष दिपक गौतम, संस्थाका सल्लाहकारहरु हरिनारायण गौतम र चन्द्रमणी गौतमले सहकारीमार्फत समुदायमा आर्थिक रुपान्तरणका अभियान सञ्चालन गर्नु पर्नेमा जोड दिए ।

संस्थाका प्रवन्धक प्रसाद थापाले संस्थाको वर्तमान अवस्था र आगामी योजनाका बारेमा जानकारी गराए । कार्यक्रम संस्थाका अध्यक्ष खिम बहादुर कार्कीको अध्यक्षता, उपाध्यक्ष गिता हमालको स्वागत र सचिव सूर्य बहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।



Leave a comment