बागलुङ । प्रगति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बागलुङका शेयर सदस्य महिलाहरुले संस्थामा दिर्घकालिन खालको वचत अभियान सञ्चालन गरी नियमित वचत गर्ने प्रतिवद्धता जनाएका छन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर शेयर सदस्य महिलाहरुका लागि संस्थाले बुधवार आयोजना गरेको एक दिने सहकारी शिक्षा कार्यक्रमका सहभागी शेयर सदस्य महिलाहरुले दिर्घकालिन वचत अभियानमा ऐक्यवद्धता जनाएका हुन् ।
सहकारीले सञ्चालन गर्ने नियमित वचतलाई प्रभावकारी बनाउन सकेमा संस्थामा तरलता समस्या नआउने देखि सदस्यको रकम वचत समेत हुने भएकाले सदस्यहरुका लागि दिर्घकालिन वचत आवश्यक रहेको भन्दै संस्थाले सञ्चालन गरेको अभियानमा साथ दिने प्रतिवद्धता शेयर सदस्य महिलाहरुले गरेका हुन् ।
शेयर सदस्य महिलाहरुको प्रतिवद्धताले उत्साहित बनाएको छ, अब बस्ने सञ्चालक समितिको वैठकबाट दिर्घकालिन खालको वचत अभियान सञ्चालन गर्नेछौ, संस्थाका अध्यक्ष कृष्णप्रसाद पौडेल (कुमार)ले भने –‘दिर्घकालिन वचत अभियानले सदस्यहरुको रकम वचत हुनुका साथै संस्थालाई दिगो रुपमा सञ्चालनमा समेत सहयोग पुग्दछ ।’
सहकारी शिक्षा कार्यक्रममा सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारीहरुले दिर्घकालिन खालका वचतलाई स्थिर सम्पत्तीका रुपमा राख्ने गरी वचत अभियान सञ्चालन गर्नु पर्नेमा जोड दिए ।जिसीले ५० वर्षे नियमित वचतको अभियानका बारेमा जानकारी गराउदै वचतका लागि खर्च घटाउने र आम्दानी बढाउनु पर्ने बताए ।
पछिल्लो समयमा सहकारीमा देखिएका समस्याका बारेमा चर्चा गर्दै जिसीले सदस्य नभएको संस्थामा कारोबार नगर्न, सञ्चालक लगायत संस्थाको अवस्थाका बारेमा जानकारी लिएर मात्र कारोबार गर्न, उपहार लगायत विभिन्न प्रलोभनमा परेर वचत नगर्न, बढी ब्याजको लोभ नगर्न सुझाव दिए ।
संस्थामा १ हजार सदस्य, २८ करोड बचत, ३० करोड कर्जा लगानी रहेको छ । संस्थाले सदस्यहरुको लागि वित्तीय तथा गैरवित्तिय विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको अध्यक्ष पौडेलले जानकारी दिए । संस्था राष्ट्रिय सहकारी बैंकले सञ्चालन गरेको सहकारीको स्तरीकरण कार्यक्रममा सहभागी भएको छ ।
संस्थाको सुशासन र वित्तीय व्यवस्थापनका लागि सहकारी बैंकले सञ्चालन गरेको स्तरीकरण महत्वपूर्ण रहेको र प्रगति सहकारी दोस्रो चरणको कार्यक्रम केयरमा प्रवेश गरेको संस्थाका प्रवन्धक मुना शर्माले जानकारी दिइन् ।
Leave a comment