बागलुङ । आदर्श सञ्चार सहकारी संस्थाको पहिलो प्रकाशन धौलागिरी जागरण दैनिकको १६ औं वार्षिकोत्सव ढोरपाटनमा मंगलवार सम्पन्न भएको छ । स्थानीय पर्यटन प्रवद्र्धनमा योगदान गर्न तथा स्थानीय स्रोत साधनको पहिचान र प्रचारमा सहयोग गर्ने उद्देश्यका साथ धौलागिरी जागरण दैनिकको वार्षिकोत्सव विगत १० वर्षदेखि बागलुङ सदरमुकाम भन्दा बाहिर मनाउदै आएको संस्थाले जनाएको छ ।
ढोरपाटन नगरपालिका वडा नं.९ स्थित ढोरपाटन शिकार आरक्ष कार्यालयमा आयोजित वार्षिकोत्सव समारोहको उद्घाटन ढोरपाटन नगरपालिकाका उपप्रमुख धन बहादुर कायतले गरेका थिए । उपप्रमुख कायतले विकासका लागि सबैभन्दा चेतना आवश्यक रहेको र आम समुदायलाई स्थानीय स्रोत साधनको पहिचान, परिचालन र प्रयोगका लागि सचेतना प्रदान गर्नु पर्ने बताए ।
ढोरपाटन क्षेत्र शिकार आरक्ष मात्रै होइन, पर्यटन, कृषि लगायत धेरै हिसावले यो क्षेत्र मुलुककै आर्थिक विकासको महत्वपूर्ण गन्तव्य बन्न सक्ने स्थलका रुपमा रहेको छ, तर सडक व्यवस्थित बनाउन नसक्दा ढोरपाटन चिनाउन नसकिएको उनको भनाइ थियो ।
आदर्श सञ्चार सहकारी संस्थाका सल्लाहकार डिल बहादुर कार्कीले ढोरपाटनको समग्र विकासमा आदर्श सञ्चार सहकारी संस्थाका तर्फबाट सदैव सहकार्य र समन्वय गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । संस्थाका सम्पादक तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले आदर्श सञ्चार सहकारी संस्थाको संक्षिप्त परिचय, धौलागिरी जागरण दैनिकको स्थापनादेखि हालसम्म सञ्चालनको अवस्था, पर्यटन प्रवद्र्धन लगायतका क्षेत्रमा गर्न सक्ने योगदान र पर्यटकीय क्षेत्रमा वार्षिकोत्सव मनाउनुका फाइदाका बारेमा सहजीकरण गरेका थिए ।
आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जिसी (अञ्जु) को अध्यक्षता, उपाध्यक्ष ललिता थापाको स्वागतमा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाका सह–सम्पादक सिर्जना पन्तले गरेका थिए ।
धौलागिरी क्षेत्रमा पहिलो सूचना तथा सञ्चार सहकारी संस्थाका रुपमा स्थापित आदर्श सञ्चार सहकारी संस्थाले १७ वर्षदेखि धौलागिरी जागरण दैनिक, १० वर्षदेखि अग्रसर साप्ताहिक, ४ वर्षदेखि आदर्श सञ्चार अनलाइन सञ्चालन गर्नुका साथै ९ वर्षदेखि धौलागिरी टेलिभिजनमा सहकार्य गर्दै आइरहेको छ । ३ हजार ५ सय जना शेयर सदस्य रहेको आदर्श सञ्चार सहकारी संस्थामा ६ करोड शेयर पूँजि, ३२ करोड वचत, ३८ करोड ऋण लगानी सहित ४५ करोडको कुल सम्पत्ती रहेको संस्थाका कोषाध्यक्ष शान्तिलक्ष्मी श्रेष्ठले जानकारी दिइन् ।
Leave a comment