विराटनगर । विराटनगर महानगरपालिका वडा नं. ३ मा रहेको सरल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शनिबार वर्तमान सन्दर्भ र सहकारी शिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।
सहकारीका अध्यक्ष गोविन्द निरौलाको अध्यक्षता तथा विराटनगर महानगरपालिकाकी सहकारी शाखा प्रमुख पृथ्वी बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहकारीका सल्लाहाकार राम प्रसाद घिमिरेले सहकारीका सात सिद्धान्त र नेपालको सन्दर्भमा यसको प्रभावकारीता छ की छैन भन्ने विषयमा चर्चा गरेका थिए ।
त्यस्तै सहकारीका सल्लाहाकार राम सापकोटाले सहकारीको मूल्य मान्यताको विषयमा प्रस्ट्याएका थिए भने सहकारीका अध्यक्ष निरौंलाले सहकारी संस्था के हो होईन भन्ने विषयमा आफ्नो प्रस्तुती राखेका थिए ।
त्यसैगरी सहकारी अभियान्ता तथा महानगरका सहकारी विज्ञ नर बहादुर कार्कीले समग्रह सहकारीको भएको व्यवस्था र पछिल्लो समय सहकारीमा देखिएका समस्याको बारेमा पनि चर्चा गरेका थिए ।
१ सय भन्दा बढी सहकारीका सदस्यहरुको सहभागितामा आयोजना गरिएको कार्यक्रममा पछिल्लो समय सहकारीमा देखिएका समस्याका कारण आफ्नो संस्थामा त्यसको असर नपरोस् भन्ने उदेश्यले सहकारीको अवस्थाको बारेमा पनि जानकारी दिने उदेश्यले कार्यक्रमको आयोजना गरिएको सहकारीका व्यवस्थापक चक्र पौडेलले जानकारी दिए ।
सहकारीले अहिले २० प्रतिशत तरलता राखेको र ऋण लगानीमा रोक लगाएको पनि पौडेलले बताए । सहकारीमा एक हजार जना शेयर सदस्य रहेको उनको भनाई छ ।
सहकारीका लेखा सुपरिवेक्षण समितिका संयोजक नोबिन ओझाले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले समितिले के के काम गर्छ भन्ने विषयमा पनि सदस्यहरुलाई जानकारी गराएका थिए।
आयातित सहकारीमा समस्या
विराटनगर महानगरपालिका सहकारी शाखा प्रमुख पृथ्वी बस्नेतले आयातित सहकारीहरुमा बढी समस्या देखिएको बताएकी छिन् ।
बाहिरबाट आएर विराटनगरमा सञ्चालन गरेका सहकारीमा बढी समस्या देखिएको र स्थानीयद्धारा सञ्चालित सहकारीमा त्यति समस्या नदेखिएको उनले बताईन । महानगरपालिकाले ५ हजार सदस्य बराबर एउटा सहकारीको अवधारणा ल्याएको पनि उनले जाकारी दिईन ।
पछिल्लो समयमा सहकारीका व्यवस्थापक, सञ्चालक, बजार प्रतिनिधिका कारण पनि सहकारीमा समस्या देखिएको बस्नेतले बताईन । ‘कुनै सहकारीमा सञ्चालकले बद्मासि गरेका छन्, कुनैमा व्यवस्थापकले र कुनैमा बजार प्रतिनिधिले’ उनले भनिन्, ‘त्यसैले सहकारीका शेयर सदस्य निकै चनाखो हुनुपर्ने अवस्था आएको छ ।
शेयर सदस्य नै सहकारीको मालिक भएका कारण संस्थामा गएर सञ्चालक समितिले कस्तो गतिविधि गरिरहेको छ, कर्मचारीको अवस्था के छ भन्ने कुराको ख्याल गर्नुपर्छ ।’
बस्नेतले भनिन्, ‘सहकारीमा बचत राख्दा व्याजको लोभमा सहकारीको सञ्चालकको बारेमा जानकारी नलिई, सहकारीको बारेमा नबुझी बचत गर्नु हुँदैन् । व्याजको लोभमा साँवा पनि सबै डुब्न सक्छ । विशेष गरी आयातित सहकारीमा बचत गर्दा १० पटक सोच्ने गर्नुपछ ।
‘विराटनगरको रारा, सिदार्थ, तुलसी सहकारीका सञ्चालक विराटनगरका नभएर बाहिरका थिए’, उनले भनिन्, ‘५ बर्षमा डबल हुने लोभमा पैसा राखेको हुन्छ, एक दुई पटक फिर्ता पनि दिन्छ र धेरै पैसा जम्मा भएपछि सहकारीका ताला लगाएर हिड्छन् ।
अनि सदस्यहरु महानगर आएर रोईकराई गर्नुहुन्छ, त्यस्तो अवस्थामा हामी कर्मचारी पनि सँगै रुनु सिवाय केही गर्न सकिन्न । त्यसैले बचत गर्दा एकदमै सहकारी चिनेर गर्ने र सहकारीको सदस्य भएपछि संस्थाप्रति चासो राखेर संस्थालाई अगाडि बढाउन सहयोग गर्ने गर्नुपर्छ ।’
पछिल्लो समयमा महानगरमा सहकारी सम्वन्धी उजुरी धेरै आएको र अनुगमनको काम पनि तीव्र रुपमा भईरहेको उनले बताईन।
Leave a comment