म्याग्दी । राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा गण्डकी प्रदेश संयोजक हुमा कुमारी जिसी (अञ्जु) सहकारी व्यवसायबाट सदस्यहरुलाई आर्थिक तथा सामाजिक रुपमा सक्षम बनाउनका लागि सदस्य शिक्षा र व्यावसायिकतामा जोड दिनु पर्ने बताइन् । बेनी नगरपालिका वडा नं. २ मा सञ्चालित राधाकृष्ण कृषि सहकारी संस्था लिमिटेडले आयोजना गरेको दुई दिने सहकारी शिक्षा कार्यक्रममा सहजीकरण गर्दै जिसीले यस्तो बताएकी हुन् ।
सहकारी सदस्यको सक्रिय सहभागितामा सञ्चालन हुने व्यवसाय हो, सहकारीलाई संस्थागत रुपमा बलियो, सुशासनयुक्त र व्यावसायिक रुपमा सञ्चालनका लागि सहकारी शिक्षासंगै उद्यमशिलताका विषयमा सचेत बनाउनु पर्दछ, जिसीले भनिन्–‘सहकारीलाई राम्रो बनाउने मात्रै होइन, संकटमा जोगाउने पनि सदस्य हुन भन्ने कुरा बुझेर सदस्यको हितमा हुने कार्यक्रम सञ्चालन गर्न सञ्चालकहरुले ध्यान दिनु पर्दछ ।’
माघ २८ गते बेनी नगरपालिका वडा नं. २ भकुण्डे र २९ गते विरायचौरमा सञ्चालित तालिममा सहकारीका सदस्यहरुको काम कर्तव्य र अधिकार, सहकारीको संस्थागत विकासमा शेयर सदस्य, सञ्चालक र कर्मचारीको भूमिका, वित्तीय साक्षरता र सहकारी ऐन तथा नियमावलीमा भएका मुख्य विषयहरुको बारेमा महासंघका सञ्चालक जिसीले सहजीकरण गरेकी थिइन ।
कार्यक्रम संस्थाका अध्यक्ष सोभित शर्माको अध्यक्षता, उपाध्यक्ष भिम बहादुर पौडेलको स्वागत र सचिव तेजेन्द्र कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष भद्र बहादुर कार्कीले सहकारीलाई प्रभावकारी रुपमा सञ्चालनका लागि सदस्य शिक्षा आवश्यक रहेको र संस्थाले नियमित रुपमा सदस्यहरुलाई सचेतना प्रदान गर्दै आइरहेको बताए ।
भकुण्डे र विरायचौरमा सञ्चालित तालिममा संस्थाका १ सय ५० जना शेयर सदस्यको सहभागिता रहेको थियो । संस्थाले सदस्यहरुको उत्पादन संकलन र बजारीकरणसंगै वचत तथा ऋण लगायत सामाजिक क्रियाकलाप गर्दै आएको सचिव तेजेन्द्र कार्कीले जानकारी दिए ।
Leave a comment