सहारा नेपाल साकोस, सहकारीको विश्व बिद्यालय : मन्त्री गिरी

सहारा नेपाल साकोस, सहकारीको विश्व बिद्यालय : मन्त्री गिरी :: Sahakari Akhabar

झापा । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले झापामा रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी विश्व बिद्यालय भएको बताएका छन् । उनले यो संस्था सिङ्गो राष्ट्रले गर्व गर्न लायक सहकारी भएकोले प्रेरणाको स्रोतको रुपमा रहेको बताएका हुन् ।

मन्त्री गिरीले पैसा लगानी गर्ने र अरबौं कमाउने भन्दा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत सदस्यलाई स्वास्थ्य, शिक्षा, विपन्नलाई घरका साथै कृषिमा राज्यले पनि गर्न नसकेको कार्य गरेको बताएका छन् । ‘साहेद राज्यले पनि सहारा नेपाल सकोस जती कार्य गर्न सकेको छैन होला’ मन्त्री गिरीले भने ‘भाषणमा मात्र समृद्ध नेपाल सुखी नेपाली होइन, समृद्ध नेपाल सुखी नेपालीको नारालाई ब्यहारमा रुपान्तरण गर्न सहारा नेपाल साकोसका अभियन्ताहरु लागिरहेका छन् ।’

संस्थाले सोमवार कनकाईस्थित जामुनवारी सिमसारमा आयोजना गरेको १० औं बिस्तारित भेला तथा आगामी कार्यदिशा कार्यक्रमका प्रमुख अतिथि रहेका मन्त्री गिरीले नेपालका ३ करोड जनतालाई स्वास्थ्यमा हामी अब्बल छौं भन्ने भावना जागृत गर्ने गरी कार्य गर्ने योजना अगाडि सारेको बताए । 

संस्था अध्यक्ष हरिबहादुर राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाको आगामी १० बर्षे रणनीतिक योजना संस्थाका सचिव महेन्द्रकुमार गिरीले प्रस्तुत गरेका थिए । सचिव गिरीले हालको संस्थाको समग्र बित्तिय अवस्था, मिशन ०८८, सदस्य सुनौ, सदस्य बुझौ अभियान, कोष तथा तरलता ब्यवस्थापन, उद्यमशीलता विकास र रोजगारी सिर्जना, सदस्यहरुको स्वास्थ्य सेवामा पहुँच, पालिका तथा प्रदेश सरकारसँग सहकार्य, कृषि तथा पशु ब्यवसाय प्रवर्धन, बहस तथा पैरवी, जेष्ठ सदस्यको सम्मान, सामाजिक सुरक्षा योजना, सदस्यहरुका लागि अध्ययन अवलोकन भ्रमण, संहकारी संस्थाहरुसँग एकीकरणलगायतका बिषयमा आगामी रणनीति जानकारी गराएका थिए ।

संस्थाका सचिब गिरीले प्रस्तुत गरेको चालु बर्ष पौष महिना सम्मको समग्र बित्तिय अवस्था अनुसार संस्थाको शेयरपुँजी १ अर्व, ६३ करोड, ४९ लाख ८४ हजार ४०० रुपैयाँ तथा बचत १० अर्व ५३ करोड २७ लाख २९ हजार १३ रुपैयाँ रहेको जानकारी दिए।

उनले बाह्य ऋण १ अर्व १६ करोड ७३ लाख ११ हजार ५८० रुपैयाँ, जगेडा कोष १ अर्व ११ करोड २१ लाख ६६ हजार ८४० रुपैयाँ साथै अन्य कोषहरु १५ करोड ७७ लाख ५१ हजार ४५२ रुपैयाँ रहेको कार्यक्रममा जानकारी दिए । त्यसैगरी संस्थाको अन्य दायित्व २७ करोड ८४ लाख ९३ हजार ८८६ रुपैयाँ, कार्यक्रम कोष ४२ करोड ५९ लाख ७४ हजार १८२ रुपैयाँ र नाफा २६ करोड ५१ लाख ७६ हजार ८७२ रुपैयाँ रहेको जानकारी दिए ।

कार्यक्रममा प्रदेश नं १ का उद्योग कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौला, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेल,  कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेललगायतले शुभकामना मन्तव्य राखेका थिए । सोही कार्याक्रमकाबिच मन्त्री गिरी र प्रदेश १ मन्त्री सिटौलालाई संस्थाले सम्मान गरेको थियो ।



Leave a comment