विराटनगर । जिल्ला सहकारी संघ मोरङको ३० औं बार्षिक साधारण सभा शुक्रबार विराटनगरमा सम्पन्न भएको छ । संघका अध्यक्ष डिल्ली पोखरेलको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश पोखरेलको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा अध्यक्ष पोखरेलले संघको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रस्तुत प्रतिवेदन अनुसार संघले पहिलो पटक यस बर्ष देखि शेयर सदस्य संघ÷संस्थालाई लाभांस वितरण गर्ने निर्णय गरेको छ । संचालक समितिले आर्थिक बर्ष २०७८÷०७९ को आम्दानीबाट सदस्यहरुलाई ६ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव साधारण सभाबाट पारित गरेको छ ।
संघमा ४०३ वटा सहकारी संघ÷संस्था सदस्य रहेका छन् । संघले गर्ने कामलाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि विभिन्न समिति बनाएर काम गरिरहेको प्रतिवेदनमा उल्लेख छ । संघको शेयर पुँजी ३५ लाख ८६ हजार रुपैया रहेको छ । संघले ४५ लाख ८१ हजार ८०४ रुपैया ३५ पैसा आम्दानी गरेको छ भने ३३ लाख ९२ हजार ३२५ रुपैया ९७ पैसा खर्च गरेको छ ।
संघले १० लाख ७० हजार ५३० रुपैया ५४ पैसा नाफा कमाएको छ । जगेडा कोषमा २ लाख ६७ हजार ६३२ रुपैया ६४ पैसा रहको छ भने लाभांस कोषमा ३ लाख ५८ हजार ८९५ रुपैया ३५ पैसा रहेको छ । संघको बचत हिसाब २ करोड १३ लाख ४८ हजार ८२ रुपैया ५४ पैसा रहेको छ भने ऋण लगानी २ करोड २४ लाख ३४ हजार १६८ रुपैया ९४ पैसा रहेको छ।
संघको लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक दुर्गाप्रसाद गौतमले प्रस्तुत गरेका थिए । समितिले १३ बुँदे सुझाव दिएको छ । बार्षिक बजेट बर्षको शुरुमै तयार गरी कार्यान्वयन गर्नुपर्ने, संघले तयार गरेको ४ बर्षे रणनीतिक योजनालाई बार्षिक रुपमा कार्य प्रगतिका आधारमा अद्यावधिक गर्नुपर्ने, सदस्यता बृद्धिका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने लगायतका सुझाव दिईएको छ ।
Leave a comment