काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष के.बी.उप्रेतीले मुलुकमा देखिएको वित्तीय संकट समाधानका लागि राज्य सहित सरोकारवाला सबै पक्ष जिम्मेवार भएर अगाडि बढ्नु पर्ने बताएका छन् ।
नेपाल सहकारी पत्रकार समाजका पदाधिकारीहरुसंग बुधवार बैंकको कार्यालयमा भएको अन्तरक्रियामा बोल्दै उप्रेतीले सहकारीसंगै समग्र वित्तीय क्षेत्रमा देखिएको समस्या समाधान गर्न सबै पक्ष लाग्नु पर्ने बताए ।
सहकारी सदस्यको सहभागितामा सञ्चालन हुने व्यवसाय हो, यसलाई जोगाउनका लागि सदस्यहरुको भूमिका बढाउन आवश्यक छ, अध्यक्ष उप्रेतीले भने, सहकारीका सदस्यलाई सचेत बनाउने विषयमा सहकारी अभियान, राज्य र सञ्चारक्षेत्रले प्राथमिकता दिनु पर्दछ ।
सहकारीको समस्या समाधानका लागि सबै पक्षलाई सहयोग गर्न आव्हान गर्दै उप्रेतीले अभियानका तर्फबाट समन्वयकारी भूमिका निर्वाह भइरहेको बताए ।
सामुहिक प्रयासबाट सहकारी संघ÷संस्थाहरुको थप विकास र प्रवद्र्धन गर्न सकिने भन्दै सहकारीको क्षेत्रसँग जोडिएका विषयवस्तुलाई सत्य–तथ्यमा आधारित भएर समाचार सम्प्रेषण गर्न अध्यक्ष उप्रेतीले आग्रह गरे । अध्यक्ष उप्रेतीले सहकारी क्षेत्रका कतिपय कमी कमजोरीहरूको खबरदारी गर्दै सकारात्मक कामहरूको सूचना तथा समाचार सम्प्रेषण हुनु पर्ने बताए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले सामुहिक प्रयासबाट सहकारी क्षेत्रलाई दरिलो र विश्वासयोग्य बनाउनु पर्नेमा जोड दिए ।
सहकारी बैंक सहकारीहरुको प्रवद्र्धन र विकासका लागि सदैव क्रियाशिल छ, हाम्रो तर्फबाट सक्दो प्रयास गरिरहेका छौं, गुरागाईले भने,–सहकारीको समस्या समाधानका लागि अभियान, राज्य र सञ्चारक्षेत्रको समेत सामुहिक भूमिका आवश्यक छ ।
Leave a comment