हाइलाइट

सहकारीका संचालकको गुनासो : केहि संस्थाको कारण, राम्रा संस्थामा पनि समस्या

सहकारीका संचालकको गुनासो : केहि संस्थाको कारण, राम्रा संस्थामा पनि समस्या :: Sahakari Akhabar

दमौली । केहि खराब संस्थाको कारण राम्रा संस्थाहरुमा पनि समस्या देखिन थालेको सहकारीका संचालकहरुले गुनासो गरेका छन् । गण्डकी प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय पोखरा र राष्ट्रिय सहकारी बैंक लिमिटेड दमौली शाखाले बुधवार दमौलीमा आयोजना गरेको सहकारीका समसामयिक विषय सम्बन्धी अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।

पछिल्लो समय केही सहकारीहरुमा देखिएको वित्तीय समस्यालाई लिएर आम समुदायमा सहकारीलाई हेर्ने दृष्टिकोणमा अन्योलता आएको चर्चा गर्दै सहभागीहरुले सहकारी संघ संस्थाहरुले सञ्चालन प्रक्रियालाई व्यवस्थित गर्दै सदस्यहरुलाई सहकारीका बारेमा यथार्थ जानकारी गराउनु पर्नेमा जोड दिएका थिए ।

‘सबै सहकारीमा समस्या देखिएको होइन, कतिपय सहकारीहरुले सुशासनमा सहकारी नचलाएका कारण सबै सहकारी उस्तै हुन भन्ने परेको छ’, कार्यक्रमका व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले भने, ‘सहकारीमा देखिएका समस्यालाई समाधान गर्न सबै सरोकारवालाहरुले एकतावद्ध भएर प्रयास गर्नुपर्छ ।’

सहकारीमार्फत समुदायमा धेरै काम भएका छन्, सबैको साथ र सहयोग भयो भने अझै धेरै  गर्न सकिन्छ, तर केही सहकारीहरुमा देखिएका समस्याका कारण राम्रा सहकारीहरुलाई समेत समस्या देखिन थालेकोले बेलैमा सचेत भएर समस्या समाधानमा लाग्नु पर्ने न्यौपानेको भनाइ छ ।

प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार रमेश घर्तिले सहकारीहरुलाई सुशासनयुक्त र पारदर्शी रुपमा सञ्चालनका लागि सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । नियमनकारी निकायले केही गर्दैन भनेर सहकारीलाई आफुखुशी सञ्चालन गर्नेहरुको पहिचान गरी कार्वाही प्रक्रिया अगाडि बढाइएको भन्दै उहाँले जे गरे पनि केही हुदैन भन्ने मानसिकता त्यागेर नियम अनुसार संस्था सञ्चालन नगर्नेलाई कार्वाहीको दायरामा बताए ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले बैंकका बारेमा र प्रदेश रजिष्ट्रार कार्यालयका अधिकृत चोलाकान्त वाग्लेले सहकारी कानुन, समसामयिक अवस्थाका बारेमा प्रस्तुतीकरण गरेका थिए ।कार्यक्रममा केन्द्रीय दुग्ध सहकारी संघका वरिष्ठ उपाध्यक्ष अमर बहादुर कुँवर, जिल्ला सहकारी संघ तनहुँका अध्यक्ष श्रीप्रसाद भट्टराई, वचत तथा ऋण सहकारी संघका महासचिव प्रदिप अधिकारी, जिल्ला कृषि सहकारी संघका निवर्तमान अध्यक्ष रामजी प्रसाद लौडारी लगायतले सहकारीमा देखिएका समस्या र समाधानका उपायका बारेमा चर्चा गरेका थिए ।



Leave a comment