हाइलाइट

सहकारी संस्थाहरुको लागि उद्यमशिलता विकास तालिम 

सहकारी संस्थाहरुको लागि उद्यमशिलता विकास तालिम  :: Sahakari Akhabar

विराटनगर । प्रदेश १ मा सहकारी संस्थाहरुको लागि उद्यमशिलता विकास तालिमको आयोजना गरिएको छ । तालिम प्रदेश नं. १, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको सहकार्य र नेफ्स्कूनको आयोजनामा सञ्चालन गरिएको हो ।

प्रदेश नं. १ अन्तर्गत नेफ्स्कूनका सदस्य साकोसका उद्यमी सदस्यहरुलाई लक्षित गरि ३ समूहमा तालिम आयोजना गरिएको हो । पाँच दिवसीय तालिम पहिलो समूहको आईतबारबाट सुनसरीको तरहरामा र सोमबारबाट मोरङको लेटाङमा सुरु भएको छ ।

लेटाङमा सुरु भएको तालिममा झापा र मोरङका विभिन्न बचत तथा ऋण सहकारी संस्थाबाट २७ जनाको सहभागिता रहेको छ । तालिम मंसिर १६ गतेसम्म चल्नेछ नेफ्स्कूनकी सञ्चालक गोमा नेपालले सहकारी मार्फत उद्यमशीलता तथा व्यवसायको विकास गर्न सकिने बताईन ।

उनले स्थानीय स्तरमा उपलब्ध, स्रोत, साधन, पुँजी तथा प्रविधिको उपयोग साथै सीपमूलक तालिम र वित्तीय पहुँच विकास गरी उद्यमशीलता विकास गर्न नेफ्स्कूनले निरन्तर सहजीकरण गरिरहेको स्पष्ट पारिन । प्रादेशिक तालिम केन्द्र प्रमुख गोपाल प्रसाद लामिछानेले कृषि विकासले गर्नुपर्ने काम नेफ्स्कूनले गरेकोमा खुसी व्यक्त गरे ।

उनले सहभागीहरुलाई तालिममा सिकेका विषयहरु कार्यान्वयमा ल्याउन सकेमात्रै तालिमको सार्थकता रहने भन्दै उद्यमी बन्न उद्यमशिलता विकास तालिम अपरिहार्य रहेको बताए । तालिम पश्चात उद्यमी बन्न आवश्यक वित्तिय स्रोतका लागि कृषि विकास बैक सहुलियत ऋण सुविधा प्रदान गर्न तयार रहेको उनले बताए ।

उद्यमशिलता विकास उप समिति सदस्य एकराज निरौलाले नेपालमा उद्यमशिलतामा जोडिने पर्याप्त सम्भावनाहरु बारे जानकारी गराउँदै सहकारी अभियानले उद्यमशिलता विकासका लागि सहजीकरणका काम गरिरहेको बताए । तालिमको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत सुमनराज घिमिरे र  अनुगमन अधिकृत रीता सूवेदीले गरिरहेका छन्  । 
 



Leave a comment