काठमाडौ । नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई मर्जरका लागि दवाव दिइरहेका बेला सहकारी संस्थाहरु पनि स्वस्फूर्तमा मर्जरमा सहभागि हुन थालेका छन् । आर्थिक मन्दी तथा तरलता अभावलगायतका कारण दवाव भएपछि सहकारीहरु मर्जरमा आकर्षिक हुन थालेका हुन् ।
पछिल्लो पटक काठमाडौका आइडल यमुना बहुद्देश्यीय, नेशनल नमोवुद्ध बचत तथा ऋण, नागरिक कल्याण बहुद्देश्यीय, सत्कार बचत तथा ऋण र घेदुङ बहुदेश्यीय एक आपसमा मर्ज हुने सम्झौता गरेका हुन् । सम्झौता अनुसार मर्जपछिको नेशनल आइडल यमुना बचत तथा ऋण सहकारी संस्थाको नामबाट संयुक्त कारोबार गर्ने अध्यक्ष ज्ञानबहादुर तामाङ र कार्यकारी प्रमुख कुयाङ लामा रहनेछन् ।
मर्जपछि संस्थाको कारोबार झण्डै १० अर्ब रुपैयाँ पुग्ने छ । संस्थाका अनुसार मर्जपछि बन्ने संस्थाको बचत ५ अर्ब ६३ करोड ७० लाख रुपैयाँ, ४ अर्ब ९९ करोड ४५ लाख ऋण तथा लगानी र कुल सम्पत्ति ७ अर्ब ५८ करोड पुग्नेछ । संस्थाको शेयरपुँजी ३० करोड ८१ लाख २२ हजार ५०० रुपैयाँ, सदस्य संख्या ३५ हजार २० जना पुग्नेछन् भने ऋणी सदस्य संख्या ६ हजार ८५८ जना पुग्नेछ । त्यस्तै मर्जपछि संस्थाको जगेडा कोष १४ करोड ६६ लाख ८९ हजार ९८२ रुपैया र कर्जा जोखिम कोष १२ करोड ४२ लाख ३५ हजार ८९८ रुपैयाँ पुग्नेछ । त्यसैगरी संस्थाको तरलता रकम १ अर्ब १३ करोड ९८ लाख ८७ हजार र २४.५८ प्रतिशत रहने संस्थाले जनाएको छ।
मर्ज सम्झौता कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले विभिन्न ठूला सहकारीहरुले दिएको सेवाको उदाहरण दिदै जति ठूलो सहकारी उति धेरै सेवा पाउने सक्ने दावी गरे । त्यसैगरी उनले नगरपालिकाभित्रका वित्तिय सहकारी कारोबार गर्ने सहकारीको दर्ता बन्द गर्नुपर्ने धारणा राख्दै नीतिगत रुपमा बहस पैरवी गर्नका लागि महासंघ निरन्तर लागिरहेको दावी गरे ।
त्यस्तै उनले अन्य संस्थाहरुले पनि एकीकरण अभियानलाई निरन्तरता दिनुपर्ने, संचालकहरुले पनि सदस्यको पैसामा रजाई नगरी सदस्यहरुको हितमा काम गर्नुपर्ने बताए ।
सोही कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतिले सहकारीहरुमा बचत फिर्ताको समस्या नआएको दावी गर्दै बैंक तथा वित्तिय संस्थाले अपवाह फैलाएको दावी गरे । उनीहरुले सहकारीहरु टोलटोलमा गएका कारण बचत जति सहकारीमा जान लागेकाले बैंक तथा वित्तिय संस्थाले कृतिम अभाव देखाएर अपवाह फैलाएको दावी गरे । उनले नेपालभर रहेका सहकारी संस्थाहरुमध्ये १ प्रतिशत भन्दा कम सहकारीमा मात्र समस्या रहेको दावी गर्दै वित्तिय व्यवस्थापन नजाने र वा ऐन नियमनको कार्यान्वयन गर्न नसकेका कारण त्यस्ता संस्थाहरुमा समस्या देखिएको जनाए । त्यस्तै उनले सहकारीलाई राज्यले नै गलत नियतले हेर्ने गरेको बताउँदै सहकारीहरुलाई पर्याप्त तरलता राखेर ठूलो कर्जा नदिन पनि आग्रह गरे । त्यस्तै उनले सहकारीहरु समस्यामा नपरुन् भनेर सहकारी बैंकले तीन अर्व रुपैयाँ बराबरको तरलता कोषको पनि स्थापना गरेको जानकारी दिए ।
त्यसैगरी बाग्मती प्रदेशका रजिष्टार नारायण ज्ञवालीले सहकारी अभियानमा विचौलिया घुसपैठ हुँदा समस्यामा आएको बताउँदै एकतावद्ध भएर यो समस्याको डटेर समाधान गर्न पनि आग्रह गरे । उनले कतिपय सहकारीहरुले कार्यक्षेत बढाउने, सेवा केन्द्र बढाउने मात्र उदेश्यका साथ मर्ज गर्ने गरेको उदाहरण दिदै शनिवार भएको पाँच वटा सहकारीको एकीकरण भने गुणस्तरीय सहकारी अभियान निर्माणका लागि भएको देखिएको दावी गरे । एकीकरणबाट अन्य सहकारी संघसंस्थाहरुले पनि सिक्न जरुरी रहेको उनले बताए ।
कार्यक्रममा मर्जपछिका प्रस्तावित अध्यक्ष ज्ञानबहादुर तामाङ र कार्यकारी कुयाङ लामाले सहकारीप्रति सदस्यहरुको विश्वासलाई कायम राख्दै थप सवल तथा बलियो संस्था बनाउनका लागि सदस्यहरुको अनुमतिमा मर्ज गर्ने निर्णय गरेको बताए ।
त्यस्तै उनीहरुले मर्जरले संस्थागत सुशासनलाई बलियो बनाउने, संचालन खर्च तथा अन्य खर्च कम गर्ने, सदस्यहरुको विश्वास बढाउने, सदस्यहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने, दोहोरो सदस्यता हटाउने, कर्जाको गुणस्तर बढाउने र थप सिनर्जी सहित प्रभावकारी र चुस्त व्यवस्थापनको निर्माण गर्न मद्धत पुग्ने अपेक्षा लिएको पनि दावी गरे ।
Leave a comment