नवलपरासी । गैंडाकोटमा मुख्य कार्यालय रहेको किसान बचत तथा ऋण सहकारी संस्थाको २५ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । शनिबार गैंडाकोटको नारायणी पार्टी प्यालेसमा भएको साधारण सभा एवं एकाई प्रतिनिधि भेला समापन समारोहमा बोल्दै प्रमुख अतिथि नेफ्स्कुनका लेखा समिति संयोजक नवराज सापकोटाले किसान सबैको सहकारी बन्न सफल भएकोमा बताए ।
उनले किसानले प्रयोग गरेका प्रविधिहरु उत्कृष्ट रहेको भन्दै सहकारीहरु अझै प्रविधिमैत्री हुनुपर्नेमा जोड दिए । किसानले धेरै सहकारीसँग एकिकरण गरेको र बित्तीय रुपमा राम्रो योगदान गरेको भन्दै गुणात्मक विकासमा ध्यान दिन आग्रह गरे । कार्यक्रममा किसान साकोसका अध्यक्ष श्रीहरि चालिसेले साधारण सभाका क्रममा आएका सुझावलाई आत्मसाथ गर्दै नीति तथा कार्यक्रममा समावेश गरि अघि वढ्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा अध्यक्ष चालिसेले गत आर्थिक वर्षसम्म २४ वटा सहकारीहरुसँग एकिकरण मार्फत ६० हजार भन्दा बढी सदस्यबीच कोरोना संक्रमणको विषम परिस्थितिमा पनि एक्सेस ब्रान्ड अन्तरगतका कार्यक्रमहरुलाई निरन्तरता दिएको बताए । संस्थाले कोरोना सचेतना, विभिन्न पालिकाहरुमा संस्थाले १० लाख भन्दा बढी नगद सहयोग गरेको बताए । व्यवसाय धारसायी बन्दै गएको र ऋण तिर्न असहज भएको विषयलाई मध्येनजर गर्दै ६५ लाख बराबरको व्याज तथा विलम्ब शुल्कमा छुट दिएको बताए । त्यस्तै सदस्यहरुलाई पुर्नउत्थान कर्जा लगानीका साथै घर दैलोमा गएर सेवा प्रदान गरेको पनि बताए ।
संस्थाले आगामी तीन वर्षमा एक लाख सेयर सदस्य, पाँच अर्ब कुल सम्पत्ती पुर्याउने योजना रहेको बताए । कार्यक्रममा किसान साकोेसका सचिव अनील सापकोटाले आर्थिक वर्ष २०७७ ०७८ भित्रै एसीटी नेटवर्कसँग आवद्ध भई एटीएम सेवा संचालन गर्ने योजना रहेको बताए । उनले १३ नियमित कार्यक्रहरु र ६३ वटा विभिन्न बीत्तीय र गैर वित्तीय कार्यक्रमहरु पेश गरेको जानकारी गराए । सभामा कोषाध्यक्ष प्रेम सापकोटाले चालु आर्थिक वर्षका लागि ३ अर्ब १० करोडको बजेट प्रस्तुत गरेका थिए । किसानले अघिल्लो वर्ष ५ करोड ७४ लाख सञ्चालन मुनाफा गर्न सफल भएको बताए ।
आगामी वर्ष ९ करोड नाफा गर्ने लक्ष्य रहेको कोषाध्यक्ष सापकोटाले बताए । आर्थिक प्रतिवेदन पेश गर्दै कोषाध्यक्ष सापकोटाले सेयर लाभांस र संरक्षित पूँजी फीर्ता कोषबाट १६.१९ प्रतिशत फीर्ता गर्ने निर्णय भएको बताए । त्यसैगरी सभामा लेखा सुपरिवेक्षण समिति संयोजक चिन्तामणि कँडेलले लेखासमितिको प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा किसान साकोसका पूर्व अध्यक्ष माधवप्रसाद गौतम, गोपाल गौतम, तिलक प्रसाद पराजुली वडा नम्बर २ का वडा अध्यक्ष धु्रबराम पौडेल, उद्योग बाणिज्य महासंघका कार्यकारीणी सदस्य अमृत भट्टचन लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
संस्थाका अध्यक्ष श्रीहरि चालिसेको सभापतित्व कार्यक्रममा उद्योग बाणिज्य महासंघको केन्द्रिय कार्यकारीणी सदस्य अमृत भट्टचनलाई सम्मान गरेको थियो । कार्यक्रममा उत्कृष्ठ कर्मचारी प्रमोद ज्ञवाली, केशव प्रसाद उपाध्याय, उत्कृष्ट सेवा केन्द्र अरुणखोला सेवा केन्द्रलाई पुरस्कृत गरिएको थियो । उत्कृष्ट रेमीटेन्स सेवा दिएको भन्दै कुनाको सेवा केन्द्र गोछडा, ऋण परिचालन तर्फ पञ्चदृष्टि सेवा केन्द्र दलदले, अधिकतम बचत तर्फ हिमचुली सेवा केन्द्र गैंडाकोट पुलचोकलाई पुरस्कृत गरिएको थियो ।
उत्कृष्ट सेवा केन्द्र संयोजकको रुपमा मुकुन्दपुर सेवा केन्द्रका संयोजक प्रेम प्रसाद सापकोटालाई सम्मान गरिएको थियो । यसैगरी साधारण सभामा उत्कृष्ट उपसमिति सदस्यको रुपमा जयलाल पराजुलीलाई सम्मान गरिएको थियो । यसैगरी संस्थाको कार्यक्षेत्र भित्र पर्ने सामुदायिक संस्थातर्फ गैंडाकोट पम्पीङ् स्कीम गैंडाकोट र विश्वज्योती आवाशिय माध्यमिक विद्यालय प्रगतिनगरलाई पनि सम्मान गरिएको प्रमुख कार्यकारी अधिकृत नवराज सापकोटा (नविन) जानकारी दिए ।
Leave a comment