काठमाडौं । सुनवल नगरपालिकामा रहेको सयपत्री बचत तथा ऋण सहकारी संस्थाको २६ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष कृष्णबन्धु अर्यालको अध्यक्षता एवं संस्थाका शेयर सदस्य एवं लुम्बिनी प्रदेशका पूर्वमन्त्री खडक बस्नेतको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।
२०५७ सालमा स्थापना भएको एवं नेफ्स्कूनद्धारा २०८१ सालको देशभरिकै सर्वोत्कृष्ट साकोस र लगातार तीनपटक प्रोबेसन ब्रान्ड पाउन सफल सयपत्री बचत तथा ऋण सकहारी संस्थामा हाल ३ हजार ४९५ सेयर सदस्य र कुल पूँजी ५३ करोड ७६ लाख ७७ हजार रहेको छ।
कार्यक्रममा प्रमुख अतिथि बस्नेतले सहकारीमा उत्पादनमुलक क्षेत्रमा लागेका सेयर सदस्यलाई सम्मान गरिनुपर्ने धारणा व्यक्त गरे । सहकारीले ऋण मात्र नखोजी काम गर्ने सेयर सदस्य खोजि लगानी गर्नुपर्ने बताए । साथै सहकारीले समाजमा सद्भाव र विकासका काममा पनि लाग्नुपर्ने धारणा व्यक्त गरेका थिए ।
संस्थाका अध्यक्ष अर्यालले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै देशमा व्याप्त आर्थिक सुस्थताको बीच बाट गुज्रिँदै नागरिकहरूमा देखिएको नैरास्यता र सहकारीहरूप्रतिको घट्दो विश्वासलाई बिस्तारै जागृत गराउँदै संस्थालाई सफल सक्षम र सबैको विश्वास योग्य बनाउँदै सबै सूचकहरुमा सदस्यहरूको उल्लेख्य सहभागिता गराउँदै आजको दिनसम्म आइपुगेको बताए ।
सभामा सचिव मुरलीधर गौतमले संस्थाको कुल बचत ४१ करोड १४ लाख ५२ हजार ७९६ रुपैंयाँ र कुल ऋण लगानी ३९ करोड ५६ लाख २८ हजार ८६८ रुपेयाँ रहेको जनाए ।
संस्थाले गत वर्ष भएको नाफाबाट बिनियोजित शेयर लाभांश रकम ४१ लाख ६१ हजार ५४८ रुपैयाँ र सदस्यहरुको कारोवारको आधारमा वितरण गरिने संरक्षितपूजि फिर्ता कोषमा २१ लाख ४८ हजार ४५० रुपैयाँ रहेको जनाए । यस वर्ष वितरण योग्य शेयर लाभांश ७.५० प्रतिशतले ब्यवस्था भएको उनले जानकारी दिए ।
त्यसैगरी सभामा कोषाध्यक्ष भीमसिंह बिकले संस्थाले आव २०८२ / ८३ मा कुल १ करोड २३ लाख ७० हजार ८३ रुपैया शुद्ध नाफा गर्न सफल रहेको जानकारी दिए । त्यसैगरि चालु आव २०८३ / ८४ का लागि प्रस्तावित कुल पूंजि ५८ करोड ३० लाख र शुद्ध नाफा १ करोड ६१ लाख ४५ हजार २५० हुने अनुमान गरिएको आय ब्ययको अनुमानित बिवरण प्रस्तुत गरेका थिए ।
कार्यक्रममा शेयर सदस्य एवं जिल्ला सहकारी सङ्घका निवर्तमान अध्यक्ष विष्णुप्रसाद पौडेल, सुनवल नगर सहकारी सञ्जालका अध्यक्ष दयाराम भण्डारी, जिल्ला सहकारी सङ्घका अध्यक्ष राजन आचार्य, संस्थाका निवर्तमान उपाध्यक्ष रमेश कर्माचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरूले सरकारले सहकारीहरूलाई घाँटीमा दाम्लो लगाएर तान्दै तान्दै जबरजस्ती लतार्ने काम गरेको र कानुनमा नभएका कुरा निर्देशनमा लागू गरिएकोमा असन्तुष्टि व्यक्त गरेका थिए ।
कार्यक्रममा शैक्षिक क्षेत्रमा उत्कृष्टता हासिल गर्ने उत्कृष्ट बचत तथा ऋणी, बाल बचतकर्ता, जेष्ठ सदस्य लगायतलाई सम्मान गरिएको थियो । संस्थाका उपाध्यक्ष कमला थापा क्षेत्रीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव मुरलीधर गौतमले गरेका थिए ।
Leave a comment