हाइलाइट

राहत कोषमा स्वतन्त्र भूतपूर्व सैनिक साकोसको १ लाख १ हजार सहयोग

राहत कोषमा स्वतन्त्र भूतपूर्व सैनिक साकोसको १ लाख १ हजार सहयोग :: Sahakari Akhabar

काठमाडौं । गैंडाकोट ४ नवलपरासीमा रहेको स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्थाले बाढी पीडितको राहत तथा पुनःस्थापनाको लागि सहयोग गरेको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत १ लाख १ हजार १११ रुपैयाँ सहयोग गरेको हो । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट र धादिङमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै संस्थाले आर्थिक सहयोग गरेको छ ।

संस्थाको सञ्चालक तथा लेखा सुपरिवेक्षण समिति, तथा सदस्यबाट स्वेच्छिक रूपमा संकलन गरिएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको संस्थाले जनाएको छ । संकटको घडीमा सहकारीले सामाजिक दायित्व बहन गर्दै हातेमालो गरेको संस्थाका अध्यक्ष वेद बन्धु रेग्मीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

विपत्तिको समयमा पीडित परिवारलाई राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग र्पुयाउने उद्देश्यले उक्त रकम प्रदान गरिएको संस्थाले जनाएको छ । विपत्तिमा परेका नागरिकको पीडा सबैको साझा दुःख भएकाले कठिन समयमा एकअर्कालाई सहयोग गर्नु मानवताको महत्वपूर्ण दायित्व भएको संस्थाले उल्लेख गरेको छ ।

संस्थाले बाढीबाट ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।



Leave a comment