हाइलाइट

आश्रय बहुउद्देश्यीय सहकारीद्धारा राहत कोषमा १ लाख ३३ हजार सहयोग

आश्रय बहुउद्देश्यीय सहकारीद्धारा राहत कोषमा १ लाख ३३ हजार सहयोग :: Sahakari Akhabar

काठमाडौं । ताहचल काठमाडौमा रहेको आश्रय बहुउद्देश्यीय सहकारीसंस्थाले बाढी पीडितको राहत तथा पुनःस्थापनाको लागि सहयोग गरेको छ । संस्थाले  सामाजिक उत्तरदायित्व अन्तर्गत १ लाख ३३ हजार २ सय रुपैयाँ सहयोग गरेको हो । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट र धादिङमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै संस्थाले आर्थिक सहयोग गरेको छ ।

संस्थाको सञ्चालक तथा लेखा सुपरिवेक्षण समिति, तथा सदस्यबाट स्वेच्छिक रूपमा संकलन गरिएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको संस्थाले जनाएको छ । संकटको घडीमा सहकारीले सामाजिक दायित्व बहन गर्दै हातेमालो गरेको जनाएको संस्थाको भनाई छ । विपत्तिको समयमा पीडित परिवारलाई राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग र्पुयाउने उद्देश्यले उक्त रकम प्रदान गरिएको संस्थाले जनाएको छ ।

विपत्तिमा परेका नागरिकको पीडा सबैको साझा दुःख भएकाले कठिन समयमा एकअर्कालाई सहयोग गर्नु मानवताको महत्वपूर्ण दायित्व भएको संस्थाले उल्लेख गरेको छ । संस्थाले बाढीबाट ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।

साथै, बेपत्ता भएकाहरूको शीघ्र खोजी तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । यसैगरी, साकोसले यस दुःखद् र कठिन घडीमा आफ्नो क्षमता र सामथ्र्यअनुसार राहत कोषमा सहयोग गर्न सबै सदस्यहरुमा अनुरोध समेत गरेको छ ।



Leave a comment