हाइलाइट

एकीकृत फ्रेण्डसिप साकोसद्धारा राहत कोषमा १ लाख ५५ हजार रुपैयाँ सहयोग

एकीकृत फ्रेण्डसिप साकोसद्धारा राहत कोषमा १ लाख ५५ हजार रुपैयाँ सहयोग :: Sahakari Akhabar

काठमाडौं । दोलखाको जिरीमा मुख्य कार्यालय रहेको एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाले बाढी पीडितको राहत तथा पुनःस्थापनाको लागि सहयोग गरेको छ । संस्थाले  सामाजिक उत्तरदायित्व अन्तर्गत १ लाख ५५ हजार १ सय ४१ रुपैयाँ सहयोग गरेको हो । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट  रसुवा, नुवाकोट र धादिङमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै संस्थाले आर्थिक सहयोग गरेको छ ।

संस्थाको सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिको एक एकवटा बैठक भत्ता, कर्मचारीहरुको एकदिनको तलब र बाँकी संस्थाको योगदान गरी उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार सहयोग गरेको एकीकृत फ्रेण्डसिप साकोसले जनाएको छ ।

समुदायमा आधारित एवं सदस्य केन्द्रित एकीकृत फ्रेण्डसिप साकोसले संकटको घडीमा सहकारीले सामाजिक दायित्व बहन गर्दै हातेमालो गरेको जनाएको छ । विपत्तिको समयमा पीडित परिवारलाई राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग र्पुयाउने उद्देश्यले उक्त रकम प्रदान गरिएको संस्थाको भनाइ छ ।

विपत्तिमा परेका नागरिकको पीडा सबैको साझा दुःख भएकाले कठिन समयमा एकअर्कालाई सहयोग गर्नु मानवताको महत्वपूर्ण दायित्व भएको संस्थाले उल्लेख गरेको  छ ।  संस्थाले बाढीबाट ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।

साथै, बेपत्ता भएकाहरूको शीघ्र खोजी तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । यसैगरी, साकोसले यस दुःखद् र कठिन घडीमा आफ्नो क्षमता र सामथ्र्यअनुसार राहत कोषमा सहयोग गर्न सबै सदस्यहरुमा अनुरोध समेत गरेको छ ।



Leave a comment