काठमाडौं । माछापोखरीस्थित शुभकिरण बचत तथा ऋण सहकारी संस्थाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरुका लागि राहत सामग्री वितरण गरेको छ । सहकारीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत त्रिशूली नदी आसपासका क्षेत्रमा समस्यामा परेका करिब एकसय प्रभावित परिवारलाई लत्ताकपडा तथा खाद्यान्न लगायतका अत्यावश्यक सामग्री वितरण गरेको हो ।
हाल सहकारी क्षेत्रमा नकारात्मक प्रभाव परिरहेको अवस्थामा पनि २ हजार ५ सय भन्दा बढी सेयर सदस्यहरुलाई सेवा दिँदै आएको शुभकिरण सहकारीले मानवीय संकटका वेला सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकता दिएको छ ।
संस्थाका प्रमुख कार्यकारी निर्देशक दिपेश खड्कीले बाढीका कारण ठूलो जनधनको क्षति भई घरबारविहीन भएका नागरिकलाई सहयोग र्पुयाउने उद्देश्यले सहकारीका सञ्चालक तथा मनकारी सेयरधनीहरुबाट संकलन गरिएको राहत सामग्री पीडितलाई वितरण गरेको बताए ।
उनले बाढीमा परी ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली, घाइतेहरुको स्वास्थ्य लाभ र हराइरहेकाहरुको सकुशल खोजीको कामना गर्दै संस्थाले आगामी दिनमा पनि पीडितहरुको आवश्यकता अनुसार राहत वितरण कार्यलाई निरन्तरता दिने प्रतिवद्धता जनाए ।
बट्टार निवासी समाजसेवी रमेशराज भण्डारी र उनकी धर्मपत्नीको सहयोगमा वास्तविक पीडितहरुको पहिचान गरी राहत सामग्री हस्तान्तरण गरिएको हो। वास्तविक पीडितसम्म सहयोग पुगोस् भन्ने हेतुले राहत टोलीले दुःखमा रहेका किरियापुत्री भवनहरुमै पुगेर समेत सामग्री वितरण गरेको जनाएको छ ।
Leave a comment