विराटनगर । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, विराटनगरले आगामी २८ औँ वार्षिक साधारण सभामा प्रस्तुत गरिने नीति, कार्यक्रम तथा बजेटका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।संस्थाले शनिबार विराटनगरमा आयोजना गरेको अन्तरक्रियामा सञ्चालक समितिका तर्फबाट अध्यक्ष जीवन काफ्लेले आगामी आर्थिक वर्षका लागि तयार गरिएको अवधारणापत्र प्रस्तुत गरेका थिए । प्रस्तुत अवधारणापत्रमाथि सहभागी शेयर सदस्यहरूले आफ्ना धारणा, सुझाव तथा जिज्ञासा राखेका थिए ।
संस्थाले साधारण सभामा प्रस्तुत गरिने नीतिगत विषयलाई थप प्रभावकारी र सदस्यकेन्द्रित बनाउन विभिन्न १७ वटा प्रश्नावलीसमेत तयार गरी शेयर सदस्यबाट सुझाव माग गरेको जनाएको छ । सहकारीको आगामी कार्यदिशा, वित्तीय व्यवस्थापन, सदस्यको हित तथा संस्थागत विकासका विषयमा सहभागीहरूले सुझाव दिएका थिए ।
अन्तरक्रिया कार्यक्रममा करिब १०० जना अगुवा शेयर सदस्यको सहभागिता रहेको थियो । कार्यक्रममा शेयर सदस्यहरूले संस्थाको आगामी योजना र बजेट यथार्थपरक, कार्यान्वयनमुखी तथा सदस्यको हितमा केन्द्रित हुनुपर्नेमा जोड दिएका थिए ।
अन्तरक्रियाका क्रममा संस्थाले आर्थिक वर्ष २०८३ / ०८४ का लागि प्रारम्भिक वित्तीय अनुमानसमेत प्रस्तुत गरेको छ । जसअनुसार आगामी आर्थिक वर्षमा संस्थाको कुल सम्पत्ति तथा दायित्व ६४ करोड ९५ लाख रुपैयाँ पुयार्उने लक्ष्य प्रस्ताव गरिएको छ ।
त्यस्तै, संस्थाले आगामी आर्थिक वर्षमा ४ करोड २३ लाख १७ हजार रुपैयाँ आम्दानी गर्ने र ४ करोड १३ लाख ३६ हजार रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान प्रस्तुत गरेको छ । प्रस्तावित अनुमानअनुसार आम्दानी र खर्च व्यवस्थापन गर्दै संस्थाको वित्तीय अवस्था थप सुदृढ बनाउने लक्ष्य राखिएको छ ।
अन्तरक्रियाबाट प्राप्त सुझाव तथा शेयर सदस्यका धारणा आगामी २८ औँ साधारण सभामा प्रस्तुत गरिने नीति, कार्यक्रम तथा बजेटलाई अन्तिम रूप दिदा समावेश गरिने संस्थाले जनाएको छ । साधारण सभाअघि शेयर सदस्यबाट प्रत्यक्ष रूपमा सुझाव संकलन गर्ने उद्देश्यले आयोजना गरिएको अन्तरक्रियाले संस्थाको आगामी नीति तथा कार्यक्रमलाई थप सहभागितामूलक बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
Leave a comment