काठमाडौं । त्रिशूली नदीमा भदौ १४ गते बिहान आएको बाढीले धादिङको बेनिघाट रोराङ गाउँपालिकाको चरौंदीमा रहेको कृषक सुधार तरकारी तथा फलफूल सहकारीको भवनमा क्षती पुर्याएको छ । संस्थाको तरकारी स्टलहरु बगाएको र भवनमा ठूलो क्षति पुर्याएको हो ।
त्यसैगरी भदौ १० गते गएको बाढीका कारण नुवाकोट जिल्लाका मात्र १३ वटा सहकारी पूर्णरुपमा क्षति भएका छन् । प्रारम्भिक विवरणअनुसार जिल्लाका कम्तीमा १३ वटा सहकारी संस्था पूर्णरूपमा क्षतिग्रस्त भएका छन्।
नुवाकोट जिल्ला बचत तथा ऋण सहकारी संघ (नेस्कोन)का अध्यक्ष नारायण श्रेष्ठका अनुसार बाढीका कारण पूर्णरूपमा क्षति भएका सहकारीहरूमा विदुर १ का साँघु बहुद्देश्यीय सहकारी, उपकार बचत तथा ऋण सहकारी, त्रिशुली बचत तथा ऋण सहकारी, दक्षिणकाली बचत तथा ऋण सहकारी, कुलभक्तेश्वर बचत तथा ऋण सहकारी, मातृभूमि बहुद्देश्यीय सहकारी र माता मनकामना बचत तथा ऋण सहकारी रहेका छन् ।
त्यसैगरी विदुर १० का शुभकामना बहुद्देश्यीय सहकारी, उत्तरगया बचत तथा ऋण सहकारी, शुभारम्भ बचत तथा ऋण सहकारी र विकासशील कृषि सहकारी रहेका छन् भने देविघाटको जाल्पादेवी वहुउद्देश्यीय सहकारी र हाम्रो सहकारी विदुर ७ मा पूर्णरुपमा क्षती भएको छ ।
बाढीले सहकारीका भौतिक संरचना र सामग्रीमा मात्र नभई सफ्टवेयर तथा डिजिटल अभिलेखमा समेत जोखिम सिर्जना गरेको छ । जिल्लाका केही सहकारीले प्रयोग गर्दै आएका सफ्टवेयर लक भएका कारण बाढीपछि ती प्रणालीबाट विवरण रिकभर गर्न कठिनाइ भएको बताइएको छ ।
नुवाकोटमा जिल्ला सदरमुकामसहित करिब ३ सय सहकारी संस्था सञ्चालनमा रहेको र तीमध्ये त्रिशूली नदी आसपासका क्षेत्रमा आएको बाढीले ठूलो संख्यामा सहकारी तथा वित्तीय संस्थाहरू प्रभावित भएका छन् । बाढीका कारण बेत्रावती, भैंसे, त्रिशूली, ढुंगे, देवीघाट, महादेवफाँट र कोल्पुटारलगायतका बजार तथा बस्तीमा व्यापक क्षति पुगेको जनाइएको छ ।
Leave a comment