हाइलाइट

टल्कु साकोसको स्थापना दिवसमा ३८ जना विद्यार्थीलाई सम्मान

टल्कु साकोसको स्थापना दिवसमा ३८ जना विद्यार्थीलाई सम्मान :: Sahakari Akhabar

काठमाडौं । टल्कु बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २४औँ स्थापना दिवसको अवसरमा एसईई–२०८२ उत्तीर्ण गरेका संस्थाका बालबचतकर्ता तथा शेयर सदस्यका सन्तानलाई सम्मान गरेको छ । कार्यक्रममा एसईई–२०८२ उत्तीर्ण गरेका संस्थाका ३८ जना बालबचतकर्तालाई सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष पूर्णबहादुर बलामीको सभापतित्वमा भएको सम्मान कार्यक्रम दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले उद्घाटन गरेका थिए । उनले द्वन्द्वकालीन कठिन परिस्थितिमा स्थापना भएको संस्थाले सदस्यकेन्द्रित सेवा, वित्तीय अनुशासन, सुशासन र पारदर्शितालाई निरन्तरता दिँदै सदस्यको विश्वास कायम राख्न सफल भएको बताए । सहकारीले वित्तीय साक्षरता, उद्यमशीलता, स्वास्थ्य बीमा तथा स्थानीय विकासका क्षेत्रमा अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा उनको भनाइ थियो ।

कार्यक्रममा नगर प्रवक्ता तथा वडा नं ९ का अध्यक्ष अमृका बलामीले सहकारीले ऋण लगानी गर्दा सदस्यको आर्थिक अवस्था, सामाजिक चरित्र र ऋण तिर्नसक्ने क्षमताको वस्तुगत मूल्याङ्कन गरी उत्पादनशील क्षेत्रमा मात्र लगानी गर्नुपर्ने बताए ।

नगर सदस्य विक्रम तामाङले यस वर्षदेखि सुरु गरिएको एसईई सम्मान कार्यक्रमले विद्यार्थीलाई प्रोत्साहन मिल्नुका साथै बालबालिकामा बचत, मितव्ययिता र वित्तीय साक्षरताको संस्कार विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

संस्थाका सचिव कृष्णकुमार तामाङले प्रविधिमैत्री, पारदर्शी तथा सदस्यमुखी वित्तीय सेवा विस्तारलाई प्राथमिकता दिँदै संस्थालाई दक्षिणकाली नगरपालिकाकै नमुना सहकारीका रूपमा विकास गर्ने लक्ष्यसहित काम भइरहेको जानकारी दिए ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न सहकारी संस्थाका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, संस्थाका सल्लाहकार, शेयर सदस्य तथा शुभेच्छुकको सहभागिता रहेको थियो। समापनका अवसरमा अध्यक्ष बलामीले स्थापना दिवसलाई सदस्य सम्मान, सहकारी शिक्षा र संस्थागत विकाससँग जोड्दै आगामी वर्षमा अझ प्रभावकारी रूपमा निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरेका थिए ।

संस्थाको असारमसान्त सम्म शेयर पुँजी २ करोड ३७ लाख, जगेडा कोष १ करोड ४१ लाख, बचत ३९ करोड ४८ लाख र ऋण लगानी २७ करोड ९६ लाख पुगेको छ । संस्थामा २ हजार २ सय २२ सदस्य रहेका छन् । संस्थाको कुल सम्पत्ति ४५ करोड ७४ लाख पुगेको छ।



Leave a comment