हाइलाइट

आइडियल साकोस २८ वर्षमा

आइडियल साकोस २८ वर्षमा :: Sahakari Akhabar

काठमाडौं । राजविराज सप्तरीमा रहेको आइडियल बचत तथा ऋण सहकारी संस्था २८ वर्षमा प्रवेश गरेको छ । २०५६ सालमा स्थापना भएको संस्था साउन १९ गतेबाट २८ वर्ष प्रवेश गरेको हो । यसै अवसरमा संस्थाका अध्यक्ष गणेश आशले संस्थालाई निरन्तर साथ सहयोग र हौसला दिइ मार्गदर्शन गर्नुहुने संस्थाका सदस्य, शुभचिन्तक, शुभेच्छुक ब्यक्ति एवं संघ संस्थामा आभार ब्यक्त गरेका छन् ।

अनवरत रुपमा सहकारीताको मुलभुत सिद्धान्त अनुरुप सेवा पुर्याउदै सफतापुर्वक संस्थाले २७ वर्ष पारगर्न सफल भएको अध्यक्ष आशको भनाइ छ । बिगतका वर्षहरुमा संस्थाले अनेक प्रकारका अप्ठ्याराहरु, चुनौतिहरु पारगर्दै शेयर सदस्यहरुको उत्साह एवं विश्वासले गर्दा जिल्लाका सहकारी संस्थाहरु मध्ये महत्वपूर्ण एवं प्रभावी स्थान प्राप्त गर्नुका साथै राष्ट्रिय स्तरमा पनि आफ्नो पहिचान स्थापित गर्न सक्षम रहेको उनको भनाइ छ ।

प्रारम्भमा ४२ जनाको सानो समूह रहेको संस्था आज १८ हजार ५३९ जना सदस्य भएको एउटा विशाल स्वरुप ग्रहण गर्दै गएको र सेवा र सदस्य संख्यामा उल्लेख्य वृद्धि भएको अध्यक्ष आशको विश्वास छ । संस्थाले सेवाग्राहीको सुविधालाई ख्याल गरी राजबिराजका अतिरिक्त पातो र हनुमाननगर सेवाकेन्द्र गरि ३ ठाउँबाट अनवरत रुपमा सेवा पुर्याइरहेको अध्यक्ष आशले जनाए ।

संस्थाले कारोबारमा बिस्तारै पेपरलेस अर्थात कम्प्युटर र डिजिटल प्रविधिमार्फत सेवा दिइरहेको उनले जनाए । संस्थाले प्रदान गर्ने सेवाहरुलाई निरन्तरता दिदै आईडियल स्मार्ट एपबाट समेत मिस्ड कल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ, जुनसुकै बैंक खातामा रकम (फन्ड ट्रान्सफर) गर्ने सुविधा, ई–सेवा, खल्ती वाइलेटमा लोड, एटीएम कार्डबाट भारतमा रकम झिक्न पाउने व्यवस्था गरेको जनाए ।

सुरुमा हजार, त्यसपछि लाख र आज करोडौंको संस्था निर्माण गर्नमा शेयर सदस्य, समितिहरुको अतिरिक्त कार्यरत कर्मचारीहरुको अमूल्य र अतुलनीय योगदान रहेको उनको भनाइ छ । वर्तमान सहकारी बजारमा चुक्ता पुँजी, निक्षेप संकलन, कर्जा सापटी, मुनाफा आर्जन, नेपाल सरकारलाई राजश्वमा गरेको योगदान र कूल कारोबारमा आइडियल साकोस अग्रणी स्थानमा रहेको अध्यक्ष आशको दावी छ ।

संस्थामा ०८३ साल असार मसान्तसम्म १२ करोड ५६ लाख ५१ हजार ६ सय रुपैंयाँ सेयर पूँजी, १४ करोड २६ लाख ७४ हजार जगेडा कोष तथा ९४ लाख ६० हजार रुपैंयाँ अन्य कोष रहेको संस्थाका ब्यवस्थापक विनोदकुमार साफीले जनाएका छन् ।

त्यसैगरी संस्थामा १ अर्ब १९ करोड ६० लाख ४७ हजार बचत तथा ७५ करोड ४ लाख ८६ हजार रुपैंयाँ ऋण लगानीमा रहेको जनाएका छन् । संस्थामा १४ करोड ९७ लाख २२ हजार संस्थागत पूँजी तथा १ अर्ब ५७ करोड५५ लाख ४६ हजार कूल सम्पती रहेको ब्यवस्थापक साफीले जानकारी दिए । संस्थामा १ हजार ९६ जना ऋणी सदस्य रहेको जनाइएको छ।



Leave a comment