काठमाडौं । सर्लाहीको हरिवनमा रहेको सगुन बचत तथा ऋण सहकारीले वत्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । संस्थाको २७ औँ स्थापना दिवसको अवसरमा आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा सर्लाही जिल्लाका १५ वटा विद्यालयका १५ जना विद्यार्थीले भाग लिएका थिए ।
प्रतियोगितामा ईश्वरपुरस्थित मनकामना इङग्लिस बोर्डिङ स्कूलकी कक्षा १० की छात्रा ईभ्रानिका कुशवाह प्रथम भएकी छन् । जिल्लाका विभिन्न १५ विद्यालयबाट कक्षा ९ देखि १२ सम्मका १५ जना विद्यार्थी सहभागी प्रतियोगितामा कुशवाहले प्रथम स्थान हासिल गरेकी हुन् ।
प्रतियोगितामा चतुरभुजेश्वर बहुमुखि जनता क्याम्पसमा कक्षा १२ मा अध्ययनरत प्रभा थापा द्वितीय र नवजीवन विद्याश्रम माध्यमिक विद्यालयकी काजल महतो तृतीय भएकी छन् । त्यस्तै ज्ञानज्योति आवासीय माध्यमिक विद्यालयकी सयुषा तिमल्सिना, महादेव जनता माध्यमिक विद्यालयका प्रेम झा, सगुन शिक्षा आवासीय माध्यमिक विद्यालयकी प्रकृति बराल र सनराइज आवासीय माध्यमिक विद्यालयकी प्राप्ती भट्टराईले सान्त्वना स्थान हासिल गरेका छन् ।
प्रतियोगिताको मूल्यांकन कमलप्रसाद जोशी, नारायण लामिछाने र राजकुमार उप्रेतीले गरेका थिए । संस्थाका अध्यक्ष केशवप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लेखा सुपरिवेक्षण समितिका संयोजक जयशंकर सिंहले स्वागत मन्तव्यसहित विद्यार्थीलाई उत्प्रेरित गरेका थिए ।
कार्यक्रममा संस्थाका पदाधिकारी तथा सञ्चालकहरूको उपस्थिति रहेको थियो । सगुन साकोसले स्थापना दिवसका अवसरमा विद्यार्थीमा रहेको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको जनाएको छ । संस्थाले प्रतियोगितामा सहभागी सबै विद्यालय तथा विद्यार्थीलाई सम्मान गरेको थियो ।
Leave a comment