काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारीले हालै विश्व ऋण परिषद् (ओकू) बाट प्राप्त गरेको डिजिटल ग्रोथ अवार्ड बारे पत्रकार भेटघाट गरी जानकारी गराएको छ।
संस्थाले विश्वस्तरीय मञ्चबाट नेपालको सहकारीले यसप्रकारको पुरस्कार प्राप्त गर्नु केवल साकोसको लागि मात्र नभई मुलुककै सहकारी अभियानको लागि महत्वपूर्ण उपलब्धि भएको जनाएको छ ।
नेपालको साकोसलाई विश्वस्तरीय मञ्चबाट डिजिटल रुपान्तरणको क्षेत्रमा गरेको योगदानस्वरुप पुरस्कृत गर्नु नेपालको सहकारी अभियानकै गौरवको विषय भएको चन्द्रागिरि साकोसका अध्यक्ष शिवशंकर मानन्धरले बताए ।
कार्यक्रममा अन्तर्राष्ट्रिय क्रेडिट युनियन सम्मेलन २०२६ को अवसरमा अष्ट्रेलियाको सिड्नीमा जुलाई २१ मा आयोजित ओकूको वार्षिक साधारण सभाका क्रममा चन्द्रागिरि साकोसलाई डिजिटल ग्रोथ अवार्ड २०२६ वाट पुरस्कृत गरिएको जानकारी गराइएको थियो ।
प्रविधिको प्रभावकारी उपयोग, डिजिटल वित्तीय समावेशीकरण एवं बिस्तार तथा नविन डिजिटल सेवाहरुको विकासमा संस्थाले पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै ओकूले चन्द्रागिरि साकोसलाई उक्त सम्मान प्रदान गरेको जनाइएको छ। कार्यक्रममा प्रविधिसँगै सम्बन्धित सदस्यको लागि यात्रा कार्ड तथा किसान नेट सेवा सुरुभएको पनि जानकारी गराएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष मानन्धरले ओकूबाट प्राप्त डिजिटल ग्रोथ अवार्ड २०२६ ले चन्द्रागिरि साकोसको डिजिटल रुपान्तरणको यात्रालाई अन्तर्राष्ट्रिय रुपमा स्थापित गर्नुका साथै नेपालको समग्र बचत तथा ऋण सहकारी अभियानको प्रतिष्ठा अभिवृद्धि गरेको बताए ।
उनले उक्त विश्वस्तरीय सम्मानलाई संस्थाको विगतको सफलताको उत्सवका रुपमा मात्र नलिइ भविष्यप्रतिको थप उत्तरदायित्वको रुपमा लिएको बताए ।
कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले चन्द्रागिरिको उपलब्धि फेडेरेशनका लागि पनि गौरवको विषय भएको बताए । नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटाले संस्थाले पाएको अवार्ड केवल चन्द्रागिरि साकोसको लागि मात्र नभइ नेपालको साकोस अभियानकै लागि महत्वपूर्ण उपलब्धिभएको बताए ।
कार्यक्रममा चन्द्रागिरि साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले आजको समयमा प्रविधिमार्फत नै सदस्यहरुलाई सेवा प्रदान गर्नुपर्छ भन्ने विश्वाससहित विभिन्न कानूनी तथा नीतिगत अड्चनका बाबजूद संस्थाले उल्लेख्य काम गरेकोले पुरस्कृत भएको बताए।
उनले आफूहरुले पाएको सफलताको सकरात्मक सन्देश जाने भन्दै, गलत गर्ने सहकारीहरु मात्रै नभएर राम्रो गर्ने सहकारीहरुपनि बजारमा रहेको बताए । सहकारीहरुले सदस्यहरुको जीवनमा ल्याएको परिवर्तनको सकारात्मक सन्देश अब बाहिर आउनुपर्छ भनेर कार्यक्रम आयोजना गरेको बताए ।
सिइओ श्रेष्ठले संस्थामा ७५ प्रतिशत कारोबार डिजिटल माध्यम प्रयोग गरेर हुने गरेको जनाए । मोबाइल बैंकिङ, एटीएम, क्यूआर लगायतका कारण हाम्रा काउन्टरहरु बिस्तारै होलो हुँदै गएका छन्, उनले भने । २४ हजार सदस्यहरुमध्ये झण्डै आधाले मोबाइल बैंकिङ प्रयोग गर्ने उनले जनाए ।
Leave a comment