काठमाडौं । दोलखाको जिरीमा रहेको एकिकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाका ९३ प्रतिशत सदस्य ऋणको पहुँच बाहिर रहेको पाइएको छ । संस्थाका जम्मा सदस्यको ७ प्रतिशत सदस्यले मात्र संस्थाबाट ऋण सुविधा उपभोग गरेको देखिएको छ ।
संस्थाले आर्थिक वर्ष ०८२ / ०८३ को असार ३२ गतेसम्म जम्मा सदस्यको ७ दशमलव ५३ प्रतिशत सदस्यमा मात्र ऋण लगानी गरेको विवरण सार्वजनिक गरेको छ । संस्थाले उक्त सदस्यहरुमा ९१ करोड ९९ लाख २४ हजार ९३४ रुपैंयाँ लगानी भएको जनाएको छ ।
संस्थामा १३२ वटा संस्था, १७ हजार ३५७ सदस्य ४१७४ बालबचतकर्ता सहित २१ हजार ५३१ आवद्ध सदस्य रहेको जनाएको छ । त्यसमध्ये संस्थाले १ हजार ६२१ जनालाई मात्र ऋण लगानी गरेको जनाएको छ । संस्थासंग ३१.६१ प्रतिशत तरलता रहेको उल्लेख छ ।
सामान्यतय सहकारी संघसंस्थाले ऋण लगानी गर्दा कूल सदस्यको तीस प्रतिशत सदस्यले ऋण उपभोग गरेको हुँदा जोखिम रहित संस्थाका रुपमा हेर्ने गरिएको छ । एउटै सदस्यलाई ऋणको भार बढी हुँदा र एकै सदस्यलाई धेरै ऋण लगानी हुँदा संस्था जोखिममा पर्नसक्ने विज्ञहरुको भनाइ छ ।
यसमा संस्थाका प्रत्येक सदस्यलाई ५ लाख ६७ हजार ५ सय ४ रुपैयाँ ५९ पैसा ऋण भागमा पर्ने देखिन्छ । त्यसैगरी सहकारी ऐनले प्राकृतिक ब्यक्तिमात्र संस्थाको सदस्य बन्न मिल्ने ब्यवस्थालाई उलंघन गरेर १३२ वटा संस्थालाई पनि सदस्य बनाएको देखिएको छ ।
संस्थाले सार्वजर्निक गरेको ०८३ साल असार ३२ गतेसम्मको विवरण अनुसार उक्त आर्थिक वर्षको अन्त्यसम्म १० करोड ७३ लाख २७ हजार सेयर पूँजी, ७ करोड २८ लाख १४ हजार १४५ रुपैंयाँ जगेडा कोष तथा २ करोड ६९ लाख ४९ हजार १८० रुपैंयाँ अन्य कोषहरु रहेको जनाएको छ ।
१ अर्व ३० करोड ३८ लाख ५० हजार ६६० रुपैंयाँ बचत रहेको संस्थाको ४१ करोड २१ लाख ३८ हजार ५६१ रुपैंयाँ तरलता रकम रहेको जनाएको छ । संस्थासंग १ अर्व ५३ करोड ९ लाख ४० हजार १९० कूल सम्पती रहेको जनाइएको छ ।
संस्थाले गत असार ३२ गतेसम्म सुत्केरी स्याहार कार्यक्रम अन्तर्गत ३८ जनालाई ७६ हजार र मृत्यु राहत कोष अन्तर्गत ३५ जनालाई ८ लाख ४८ हजार ८०० रुपैंयाँ गरी जम्मा ९ लाख २४ हजार ८०० रुपैंयाँ राहत वितरण गरेको जनाएको छ ।
Leave a comment