काठमाडौं । खिचापोखरी न्यूरोडमा रहेको चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था २०औं वर्षमा प्रवेश गरेको छ । संस्थाले साउन १ गतेबाट १९ वर्ष पुरा गरेको हो । १९ वर्ष अगाडि २९ जना संस्थापक सदस्यहरूबाट सुरु भएको चाइना ट्रेड बहुउद्देश्यीय सहकारीमा आज करिब २ हजार शेयर सदस्यहरू आवद्ध भइसकेका छन् ।
संस्थाको स्थापना दिवसको अवसरमा शुभकामना ब्यक्त गर्दै संस्थाका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमितिका पदाधिकारी, व्यवस्थापन टिमका साथै शेयर सदस्यहरुलाई शुभकामना ब्यक्त गरेका छन् ।
अध्यक्ष श्रेष्ठले संस्थाले सदस्य समर्पित अग्रणी सहकारीको स्पष्ट भिजन र आर्थिक सशक्तिकरण तथा नवप्रवर्तन मार्फत सदस्य समृद्धिमा योगदान पुर्याउने मूल मिसनलाई आफ्नो मार्गदर्शक सिद्धान्त बनाएको जनाएका छन् । उनले सहकारी क्षेत्रको यात्रामा ५ वटा रणनीतिक उद्देश्यहरू तय गरेको जनाएका छन् ।
१, सदस्यको आर्थिक सशक्तिकरण २, उद्यमशीलता प्रवद्र्धन र स्वःरोजगारी ३, सदस्य शिक्षा र सक्रियता ४, नवप्रवर्तन र प्रविधिमैत्री सेवा ५, सुशासन र दिगोपना । यिनै रणनीतिक उद्देश्यहरूको परिधिभित्र रहेर संस्था सदैव अगाडि बढिरहेको र बढिरहने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
हाल संस्थामा सेयर पूँजी, ८ करोड, कूल निक्षेप ७५ करोड, ऋण लगानी ३८ करोड रहेको अध्यक्ष श्रेष्ठले जनाएका छन् । बाह्य ऋणको प्रभावकारी व्यवस्थापन गरिरहेको र पूर्ण एनएफआरएस कार्यान्वयन र पारदर्शी लेखा प्रणाली रहेको उनको भनाइ छ । आफ्नै भवनमा सुविधा सम्पन्न, आधुनिक कार्यालय र पूर्ण प्रविधिमैत्री सहकारी सेवा प्रदान गरिरहेको उनको भनाइ छ ।
संस्था केवल वित्तीय कारोबारमा मात्र सीमित नरहेर सामाजिक उत्तरदायित्व र सदस्यहरूको चौतर्फी विकासमा पनि उत्तिकै क्रियाशील रहेकोले संस्थाको १८औं स्थापना दिवसको अवसरमा पदयात्रा कार्यक्रम सम्पन्न गरिएको जनाए ।
साथै, ६९औं राष्ट्रिय सहकारी दिवसमा रक्तदान कार्यक्रम, काठमाडौं महानगरपालिका र वीर अस्पतालसँगको सहकार्यमा सामाजिक हितका लागि ४० वर्ष माथिका पुरुषहरूको प्रोष्टेड क्यान्सर परीक्षण शिविर, साना तथा मझौला उद्यमी सदस्यहरूको व्यावसायिक क्षमता अभिवृद्धिका लागि "CHITCOL Digital Catalyst" जस्ता विशेष तालिम र सदस्यहरूबीचको आपसी भाइचारा सुदृढ गर्न वार्षिक रिक्रियशनल एण्ड फेलोसिप कार्यक्रम सम्पन्न भएका अध्यक्ष श्रेष्ठले जनाएका छन् । साथै सदस्य शिक्षा र वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरू हामीले नियमित रूपमा सञ्चालन गर्दै आइरहेको समेत जनाइएको छ ।
Leave a comment