काठमाडौं । सहकारी ऐन २०७४ मा गरिएको नयाँ संशोधनले संस्था सञ्चालनमा चुनौती थपेको भएपनि त्यसलाई अवसरका रूपमा लिनुपर्ने सरोकारवालाहरुले जोड दिएका छन् । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले भक्तपुर नगर सहकारी समन्वय उपसमितिको आयोजनामा संचालन गरेको एकदिने ‘सदस्य सक्षमता विकास तालिम’ कार्यक्रममा सरोकारवाला हरुले ऐन संसोधनलाई चुनौति नभइ अवसरको रुपमा हेर्नुपर्ने बताएका हुन् ।
संघका अध्यक्ष हरिकृष्ण बल्लले हाल सहकारी क्षेत्रमा सरकारले नियमनलाई कडा गर्दै सहकारी ऐन २०७४ लाई संशोधन गरेको भन्दै संशोधित ऐनले सहकारीका सदस्यहरूको बचत फिर्ता, ऋण असुली र सहकारी नियमनलाई विशेष जोड दिएको बताए ।
“यस संशोधनले सहकारी संघ संस्थाहरूलाई ऐन कानुन पालनाको थप चुनौती त थपेको छ, तर हामीले यस चुनौतीलाई अवसरको रूपमा लिएर अघि बढ्नुपर्छ,“ उनले भने । प्रारम्भिक संस्थाहरू रहे मात्रै संघको अस्तित्व रहने भएकाले प्रारम्भिक संस्थाहरूको सबलीकरणका लागि संघ सधैं आवश्यक रहने बताए ।
सहकारी संघलाई सहकारी बैंकमा रूपान्तरण गर्नु वा मर्ज गर्नु भनेको अन्ततः प्रारम्भिक संस्थाहरूलाई नै कमजोर बनाउनु रहेको अध्यक्ष बल्लको भनाइ छ । संघका उपाध्यक्ष एवं नगर सहकारी समन्वय उपसमितिका संयोजक जगनाथ प्रजापतिले तालिम शिक्षाले पदाधिकारीमा दायित्व बोध गराउने भन्दै नवनिर्वाचित संस्थाका सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिलाई लक्षित गर्दै सहकारीको कुशल नेतृत्वका लागि आवश्यक ज्ञान र सीप विकास गर्ने उद्देश्यले यो तालिम आयोजना गरिएको जानकारी दिए ।
तालिममा संघका निवर्तमान अध्यक्ष कृष्णगोविन्द लाखाजुले सहकारीमा आन्तरिक नियन्त्रण प्रणालीको महत्व र सहकारीमा असल बैठक सञ्चालनका साथै माइन्युट (निर्णय) लेखनका विषयमा प्रशिक्षण दिए । संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले सहकारीको अवधारणा, सहकारी सिद्धान्तहरूको व्यावहारिक प्रयोग तथा सञ्चालक समितिको काम, कर्तव्य र अधिकारका बारेमा अभ्यासात्मक र व्यावहारिक प्रशिक्षण गरेका थिए ।
तालिममा सहभागी सम्पदा बचत तथा ऋण सहकारी, पूजा बचत तथा ऋण सहकारी र न्हुज बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति तथा लेखा समितिका पदाधिकारीहरूले तालिम प्रभावकारी र समयसान्दर्भिक रहेको बताए । संघको नगर सहकारी समन्वय उपसमितिका सदस्य राजन जतिले सञ्चालन गरेको तालिममा तीनवटा संस्थाबाट २४ जना पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
Leave a comment