काठमाडौं । अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा विभिन्न संघ संस्था तथा व्यक्तिहरु सम्मानित भएका छन् । असार १९ गते राष्ट्रिय सहकारी महासंघले १०४ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा विभिन्न संघ संस्था तथा व्यक्तिहरुलाई सम्मान तथा पुरस्कृत गरेको हो ।
महासंघले सहकारी अभियन्ता तथा सात प्रदेशबाट उत्कृष्ट सहकारी संघसंस्थालाई सम्मान गरेको छ । महासंघका कार्यवहाक अध्यक्ष रमेशप्रसाद पोखरेलको सभापतित्व तथा महासंघकै सल्लाहकार केशव बडालको प्रमुख आतिथ्यतामा आयोजना गरिएको कार्यक्रममा सहकारी क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने व्यक्ति तथा उत्कृष्ट कार्यगर्ने संघ संस्थालाई सम्मान गरिएको थियो ।
सम्मानित तथा पुरस्कृत हुनेहरुमा नेफ्स्कूनका पूर्व अध्यक्ष ऋषिराज घिमिरेलाई राष्ट्रिय सहकारी अभियन्ता सम्मान गरिएको छ । त्यसैगरी उत्कृष्ट सहकारी कर्मचारी पुरस्कार २०८२ बाट जिल्ला बचत तथा ऋण सहकारी संघ बुटवल रुपन्देहीकी ब्यवस्थापक शर्मिला गौतम भट्टराई र सहकारी पत्रकारिता पुरस्कार २०८२ बाट चीना थापा पुरस्कृत भएकी छन् ।
त्यसैगरी उत्कृष्ट सहकारी पुरस्कार २०८२ बाट जिल्ला संघहरु मध्येबाट जिल्ला सहकारी संघ झापालाई सम्मान गरेको छ । उत्कृष्ट सहकारी व्यवसाय पुरस्कारबाट पुरस्कृत हुनेमा कोशी प्रदेशबाट मेचीनगर साकोस, मेचीनगर झापा तथा मधेस प्रदेशबाट महिला केन्द्र बहुउद्देश्यीय सहकारी संस्था बर्दिबास पुरस्कृत भएका छन् ।
त्यसैगरी बागमती प्रदेशबाट महिला मिलन साकोस हेटौडा–१३, मकवानपुर, गण्डकी प्रदेशबाट मध्य नेपाल साकोस, देवचुली–१४, प्रगतिनगर, नवलपरासी पुरस्कृत भएका छन् । लुम्बिनी प्रदेशबाट अष्टम साना किसान कृषि सहकारी राप्तीसोनारी– बाँके, कर्णाली प्रदेशबाट वीरेन्द्रनगर साकोस, सुर्खेत र सुदूरपश्चिम प्रदेशबाट जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था वुढीगंगा ५, बाजुरा पुरस्कृत भएका हुन् । पुरस्कृत हुने संघसंस्था तथा व्यक्तिलाई कदर पत्र तथा नगदबाट सम्मानित गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि बडालले सहकारी मूल्य, मान्यता र सिद्धान्त विपरित सरकारले कदम चाले त्यसको प्रतिकार गर्ने बताए । सहकारी दर्शन, सिद्धान्त र मूल्य विपरित सरकार र अभियान्ताहरुले काम गर्न नमिल्नेमा उनले जोड दिए । उनले सहकारीले वुहआयामीक गरिबी घटाउनमा महत्वपूर्ण योगदान खेलेको बताए । सहकारीका स्वयत्तता र स्वतन्त्रतालाई कमजोर बनाउने कुनै काम राज्यले समेत गर्न नहुने उनको भनाई छ ।
कार्यक्रममा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले मूलूकको एक तिहाई जनसंख्या सहकारी आवद्ध रहेको र पुँजी निर्माण, रोजगारी सृजना तथा आय आर्जनको क्षेत्रमा सहकारीलले महत्वपूर्ण भूमिका खोलेको बताए ।
उनले सहकारीले समाज रुपान्तरणमा उल्लेख भूमिका खेलेपनि केही सहकारी संस्थामा आएको वित्तीय समस्याले यो क्षेत्रप्रति अविश्वास बढेको धारणा राखे । सहकारीले समाजमा चेतनाको स्तर, महिला सहभागिता, समावेशी समाज निर्माण, गुणस्तरिय शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा समेत काम गरेको चर्चा गर्दै केही सहकारीका कारण शिर झुकाएर हिड्नु परेको जनाए ।
कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष दीपक प्रकाश बाँस्कोटा, महासंघका सल्लाहकार लिलामणि पोख्रेल, योजना आयोगका पूर्व सदस्य तथा महासंघका सल्लाहकार डा.उषा झा, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज आचार्य र महासंघका निवर्तमान अध्यक्ष मिनराज कँडेल तथा उपाध्यक्ष डिबी बस्नेतले शुभकामना मन्तव्य राखेका थिए ।
उनीहरुले सहकारीले सामाजिक आर्थिक रुपान्तरणमा योगदान गरेको चर्चा गर्दै सहकारीको पुँजीलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न जोड दिए । विश्व शान्तिका लागि सहकारी भन्ने यस बर्षको नाराका विषयमा प्रमुख वक्ताको रुपमा सहकारी विभागका रजिष्ट्रार बाबुराम गौतमले आफ्नो धारणा राखेका थिए ।
सहकारीले समाज रहेको अभाव, गरिबी ,असमान्ता र विभेदको अन्त्यबाट शान्ति स्थापना गर्नसक्ने उनले बताए । सहकारी मूल्य, मान्यता र दर्शनमा सञ्चालन हुनसके मात्र सहकारीले मानविय भावनाको विकास गर्दै समाज रुपान्तरण गर्नसक्ने उनको भनाइ छ ।
पछिल्लो समय वित्तीय अपचलनका कारण सहकारी क्षेत्र अशान्त रहेको भन्दै उनले त्यसतर्फ अभियानको ध्यान जान आवश्यक रहेको उल्लेख गरे । सहकारी मार्फत सामुहिक हित र भन्दापनि सीमित व्यक्तिले लाभ खोज्दा अहिलेको अवस्था आएको उनको तर्क छ ।
वित्तीय पारदर्शिताले सदस्यको बचत सुरक्षित हुने र सदस्यले पनि संस्थाप्रति विश्वास गर्ने उनको भनाई छ । संघका कार्यवहाक अध्यक्ष पोखरेलले महासंघको सदस्यता प्राप्त गरेपश्चात विश्व सहकारी अभियानमा ऐक्यवद्धता जनाउँदै प्रत्येक वर्ष जुलाई महिनाको पहिलो शनिवार अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउँदै आइरहेको बताए ।
Leave a comment