काठमाडौं । कानुनसम्मत कारोबार गरीरहेको संघहरुलाई सहकारी बैंकमा मर्जगर्ने वा संघहरु मिलेर सहकारी बैंक गठन गर्ने व्यवस्थाले अप्ठ्यारो बनाएको सहकारीकर्मीहरुले बताएका छन् । संघहरूको ऐतिहासिक अस्तित्व नै मेट्नेगरी आउनलागेको कानुनले अव संघहरु आत्मनिर्भर हुनेगरी कारोबार व्यवस्थापन हुनुपर्ने बताएका छन् ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको महिला सशक्तीकरण उपसमितिको आयोजनामा आज सम्पन्न “नवीनतम व्यवसाय र प्रविधिमा महिलाको पहुँच“ विषयक एक दिवसीय गोष्ठीमा सहभागी वक्ताहरूले धारणा राखेका हुन् ।
गोष्ठीमा संघमा आबद्ध ५२ जना महिला व्यवसायीहरूको उत्साहजनक सहभागिता रहेको थियो । गोष्ठीको उद्घाटन गर्दै संघका अध्यक्ष हरिकृष्ण बल्लले आधुनिक युगमा प्रविधि र डिजिटल साक्षरता विना व्यवसाय र सहकारी सञ्चालन असम्भव बनेको बताए ।
उनले भने, “अहिलेको युगमा प्रविधि जान्नु अनिवार्य भइसकेको छ । प्रविधि चलाउन नजान्ने हो भने जतिसुकै शिक्षित भए पनि त्यो अनपढ जस्तै ठहरिन्छ ।’ संघकी सञ्चालक एवं महिला सशक्तीकरण उपसमिति संयोजक शुशिला पराजुलीले १०४ औं अन्तराष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा गोष्ठीको आयोजना गरेको जानकारी दिइन् ।
उनले विभिन्न संस्थामा आबद्ध व्यवसायी महिलाहरूलाई एकै ठाउँमा भेला गराई एक आपसमा व्यावसायिक सञ्जाल निर्माण गर्न टेवा पुग्ने बताइन् । “हामी महिलाहरूले परम्परागत ढङ्गले मात्र व्यवसाय गरेर पुग्दैन । प्रविधिको उच्चतम प्रयोग गरी आफ्ना व्यवसायलाई आधुनिक र प्रविधिमैत्री बनाउन गोष्ठीले ठूलो सहयोग पुर्याउनेछ ।’
सहभागीहरूलाई स्वागत गर्दै उपसमिति सदस्य बन्दना पोखरेलले वर्तमान बजारमा डिजिटल मार्केटिङको महत्वबारे चर्चा गरेकी थिइन् । उनले उपभोक्ताको चाहना र प्रविधिको विकास सँगसँगै नवीनतम व्यवसायको पहिचान र डिजिटल मार्केटिङका बारेमा गोष्ठीमा व्यावहारिक सहजीकरण हुने बताइन् ।
गोष्ठीमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका वरिष्ठ प्रशिक्षक सुन्दर श्याम घिमिरेले नवीनतम व्यवसायमा प्रविधिको प्रयोग, बजारमा अवसरको पहिचान र व्यवसायको नेटवर्किङ (सञ्जाल विस्तार) का बारेमा व्यवहारिक रूपमा सिकाएका थिए ।
प्रतिष्ठानकै प्रशिक्षक अभिषेक रिसालले वर्तमान समयका चर्चित डिजिटल माध्यमहरू फेसबुक, भाइबर, इन्स्टाग्रामका साथै आधुनिक एआई प्रविधिहरू जस्तै च्याट जीपीटी र गुगल जेमिनीको प्रयोग गरेर कसरी डिजिटल मार्केटिङ गर्न सकिन्छ भन्ने विषयमा प्रयोगात्मक प्रशिक्षण प्रदान दिए ।
Leave a comment