काठमाडौं । झापाको कांकडभिट्टामा मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदकालागि दरखास्त आह्वान गरेको छ । संस्थाले ४ वर्षे करारसेवा अन्तर्गत कामगर्न इच्छुक योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो ।
संस्थाले २०८३ असार ३० गतेसम्म इच्छुक आवेदकले आवेदन दिनसक्ने जनाएको छ । सूचनामा ५५ वर्ष ननाघेको हुनुपर्ने, शैक्षिक योग्यता, अनुभव, प्राथमिकता, आवश्यक कागजात, आवेदन प्रक्रिया तथा दस्तुरसम्बन्धी विस्तृत जानकारी संस्थाको आधिकारिक वेबसाइट NMC-COOP – Nepal Multipurpose Cooperative Society LTD. मार्फत प्राप्त गर्न सकिने जनाएको छ ।
संस्थाले सीईओ पदका लागि मासिक तलब १ लाख ५० हजार रुपैयाँ, मासिक भत्ता ३० हजार रुपैयाँ तथा आवास सुविधा वापत २० हजार रुपैयाँ उपलब्ध गराउने जनाएको छ । अन्य सेवा सुविधा सञ्चालक समितिले तोकेबमोजिम हुने सूचनामा उल्लेख छ । उम्मेदवार छनोट अन्तर्वार्ता र व्यावसायिक योजनाको प्रस्तुतीकरण मूल्यांकनका आधारमा गरिने जनाएको छ ।
२०५० साल फागुन २४ गते झापामा स्थापना भएको सहकारी संस्थाको झापा, इलाम र मोरङ तीन जिल्ला कार्यक्षेत्र रहेका छन् । संस्थाले बचत तथा ऋण सेवाका अलवा डेरी उद्योग, चिया उद्योग, प्याकेजिङ उद्योग सञ्चालन गर्दै आएको छ भने कृषितर्फ धान, तरकारी, फलफूल र च्याउ खेती गर्दै आएको छ ।
त्यसैरी फलफूल तथा तरकारीका बेर्ना र साइलेज उत्पादन गर्दै आएको संस्थाले कृषिअन्तर्गत आफ्नै जमिनमा नमुनाको रुपमा गाईपालन, माछापालन, मौरीपालन र हाँसपालन गर्दै आएको जनाएको छ । स्थानीय कृषकलाई सहुलियत मूल्यमा कृषि यान्त्रीकरण सञ्चालन गर्दै आएको र सदस्य र सर्वसाधारणको सहज पहुँच पुग्ने गरी विभिन्न स्थानमा सहकारी पसलहरु सञ्चालनमा रहेको जनाएको छ । संस्थामा हाल १ लाख ५० हजारभन्दा बढी सदस्यहरु रहेका छन् ।

Leave a comment