काठमाडाै । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले उच्चशिक्षा छात्रवृत्ति वितरण र साइबर सुरक्षा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले १४ गते ‘चन्द्रागिरि उच्च शिक्षा छात्रवृत्ति वितरण तथा अनलाइन सुरक्षा एवं डिजिटल ठगीविरुद्ध सचेतना कार्यक्रम’ सम्पन्न गरेको हो ।
कार्यक्रममा सूचना प्रविधि विज्ञ नविन कार्कीले ‘अनलाइन सुरक्षा तथा डिजिटल ठगीविरुद्ध जनचेतना’ विषयमा प्रस्तुति दिएका थिए उनले सामाजिक सञ्जाल प्रयोग गर्दा देखिने जोखिम, फिसिङ, ओटिपी ठगी, लटरी स्क्याम, रोमान्स स्क्याम जस्ता डिजिटल ठगीका नयाँ प्रवृत्तिहरूबारे विस्तृत जानकारी गराए ।
सहभागी विद्यार्थीहरूबीच अन्तरक्रिया र प्रश्नोत्तर कार्यक्रम पनि सञ्चालन गरिएको थियो भने उत्कृष्ट प्रश्न सोध्ने र सक्रिय सहभागीता जनाउने विद्यार्थी तथा सहभागीहरूलाई पुरस्कृत समेत गरिएको थियो । “सोचेर क्लिक गरौं, ठगीबाट बचौं” भन्ने नारा रहेको थियो ।
त्यसैगरी संस्थाले ६२ जना जेहेन्दार तथा आर्थिक रूपमा विपन्न विद्यार्थीहरूलाई चन्द्रागिरि उच्च शिक्षा छात्रवृत्ति प्रदान गरेको थियो । संस्थागत तथा व्यक्तिगत गरी २६ जना दाताहरूको योगदानबाट छात्रवृत्ति कोष सञ्चालन गरी उक्त कोषबाट छात्रवृत्ति प्रदान गरेको संस्थाले जनाएको छ ।
सामुदायिक विद्यालय तथा क्याम्पसहरुमा अध्ययनरत आर्थिक रूपले कमजोर, असहाय, अशक्त तर जेहेन्दार विद्यार्थीहरूलाई उच्च शिक्षा १० जोड २, स्नातक र स्नातकोत्तर तह हासिल गर्न सहयोग पुर्याउने उद्देश्यले गरेको संस्थाले जनाएको छ ।
चन्द्रागिरि साकोसको अग्रसरता विभिन्न व्यक्ति र संघसंस्थाको योगदानबाट छात्रवृत्ति कोष निर्माण भई सञ्चालन भईरहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले बताए । कार्यक्रमका प्रमुख अतिथि योगेन्द्रकुमार कुँवरले छात्रवृत्ति कार्यक्रमको सुरुवाती चरण स्मरण गर्दै दाताहरूको विश्वास र समर्पणप्रति आभार व्यक्त गर्दै प्राप्त छात्रवृत्तिलाई पूर्ण सदुपयोग गर्न विद्यार्थीहरूलाई आग्रह गरे ।
चन्द्रागिरि नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बुद्धिप्रसाद भट्टले शिक्षामा लगानी नै राष्ट्रको भविष्यमा लगानी भएको बताउँदै सहकारीले वित्तीय सेवासँगै शिक्षा र डिजिटल साक्षरतामा गरेको योगदान प्रशंसनीय रहेको बताए ।
संस्थाका लेखा तथा सुपरिवेक्षण समितिका संयोजक भानुप्रकाश ढकालले पनि उच्च शिक्षा छात्रवृत्ति वितरण र साइबर सुरक्षा सचेतनाबारे आफ्नो विचार ब्यक्त गरे । संस्थाका अध्यक्ष शिवशंकर मानान्धरले सहकारी केवल आर्थिक कारोबारमा सीमित नभई सामाजिक विकास र समुदायको उत्थानमा समर्पित रहेको बताए । उनले यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । शिक्षा उपसमिति सदस्य ललिता कार्कीले स्वागत मन्तव्य र सञ्चालक सदस्य इन्द्रबहादुर महर्जनले धन्यवाद ज्ञापन गरेका थिए ।
Leave a comment