हाइलाइट

श्री बाराही साकोसद्धारा धिमे बाजा प्रशिक्षण शुभारम्भ

श्री बाराही साकोसद्धारा धिमे बाजा प्रशिक्षण शुभारम्भ :: Sahakari Akhabar

काठमाण्डौं । भक्तपुरको श्री बाराही बचत तथा ऋण सहकारी संस्थाले धिमे बाजा प्रशिक्षण शुभारम्भ गरेको छ । संस्थाको सांस्कृतिक तथा खेलकुद उपसमितिको आयोजनामा तीन महिने धिमे बाजा प्रशिक्षण औपचारिक रूपमा शुभारम्भ गरेको हो ।

भक्तपुरको मौलिक सांस्कृतिक सम्पदाको संरक्षण, संवद्र्धन तथा नयाँ पुस्तामा परम्परागत धिमे बाजा बजाउने सीप हस्तान्तरण गर्ने उद्देश्यले प्रशिक्षण शुभारम्भ गरेको संस्थाले जनाएको छ । सृजन ग्वाछाको सभापतित्व तथा संस्थाका अध्यक्ष राधेश्याम सुवालवाट प्रशिक्षण कार्यक्रम शुभाराम्भ गरेको थियो । ब्यवस्थापक शिवजी हाकुदुवाल तथा प्रशिक्षक रभिम कपाली लगायत प्रशिक्षार्थीहरूलाई तालिमको बारेमा जानकारी गराइएको थयो।
अध्यक्ष सुवालले धिमे बाजा भक्तपुरको मौलिक पहिचान र सांस्कृतिक गौरव भएको उल्लेख गर्दै यसको संरक्षणका लागि युवापुस्ताको सक्रिय सहभागिता आवश्यक रहेको बताए । उनले सहकारीले आर्थिक सेवा सँगसँगै सामाजिक, सांस्कृतिक तथा सीपमूलक कार्यक्रम सञ्चालन गर्दै समुदाय प्रति आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गरिरहेको उल्लेख गरे ।

तालिमबाट प्रशिक्षार्थीहरूले धिमे बाजाको व्यावहारिक ज्ञान हासिल गरी संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे । व्यवस्थापक हाकुदुवालले सहकारी केवल बचत तथा ऋणमा सीमित नभई सदस्य तथा समुदायको समग्र विकासमा केन्द्रित रहेको बताए ।

उनले यस्ता सांस्कृतिक तथा सीपमूलक कार्यक्रमहरूले युवाहरूमा अनुशासन, सहकार्य, नेतृत्व विकास र सांस्कृतिक चेतना अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्दै तालिमलाई सफल बनाउन सबै प्रशिक्षार्थीलाई नियमित सहभागिताका लागि आग्रह गरे ।

कार्यक्रमका सभापति ग्वाछाले धिमे बाजा तालिम सञ्चालनका लागि सहयोग गर्ने सम्पूर्ण पक्षप्रति आभार व्यक्त गर्दै सहभागीहरूलाई लगनशीलताका साथ तालिम पूरा गरी सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गर्दै यस्ता कार्यक्रमले परम्परागत कला–संस्कृतिको संरक्षणमा दीर्घकालीन योगदान पुग्ने बताए ।

प्रशिक्षक रभिम कपालीले आगामी तीन महिनासम्म धिमे बाजाको आधारभूतदेखि व्यावहारिक अभ्याससम्म व्यवस्थित रूपमा प्रशिक्षण प्रदान गरिने जानकारी दिए । नियमित अभ्यास, अनुशासन र निरन्तर प्रयासबाट सहभागीहरू दक्ष धिमे बाजा वादक बन्न सक्ने बताउँदै उनले सम्पूर्ण प्रशिक्षार्थीलाई उत्साहका साथ तालिममा सहभागी हुन आग्रह गरे ।

तीन महिनासम्म सञ्चालन हुने उक्त तालिममा २७ जना बालबालिका, युवा तथा सदस्यहरुको सहभागिता रहेको छ । कार्यक्रमको सञ्चालन सांस्कृतिक तथा खेलकुद उपसमितिका सदस्य अमित खोंजु र स्वागत मन्तव्य कर्मचारी मिनु थुयाजुद्वारा गरिएको थियो ।



Leave a comment