विराटनगर। राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा ‘सहकारी क्षेत्रमा देखा परेका समस्या, चुनौती र सुरक्षित भविष्यका लागि सुधारका आयामहरू’ विषयक अन्तरक्रिया कार्यक्रम शनिबार विराटनगरमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका कार्यवाहक अध्यक्ष रमेश प्रसाद पोखरेलले केही नियत खराब भएका व्यक्तिहरू सहकारी क्षेत्रमा प्रवेश गर्दा समग्र सहकारी अभियानप्रति नकारात्मक धारणा बढेको बताए । उनले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि आवश्यक सुधारका कामहरू सुरु भइसकेको र थप कामहरू पनि भइरहेको जानकारी दिए ।
उनले सहकारीमैत्री नीति निर्माणका लागि महासंघले सम्बन्धित निकायसँग निरन्तर समन्वय गरिरहेको उल्लेख गरे । उनले सहकारी संस्थाहरूमा तरलता बढे पनि कर्जा प्रवाह हुन नसकेको र प्रवाह भएको कर्जा समेत प्रभावकारी रूपमा असुली हुन नसक्दा समस्या सिर्जना भएको बताए । बजारमा लगानीको सम्भावना कमजोर भएकाले सहकारीहरूले पनि व्यवसाय विस्तारमा अपेक्षित चासो देखाउन नसकेको उनको भनाइ थियो ।
कार्यक्रममा सहकारी बैंकका अध्यक्ष लक्ष्मि प्रसाद उप्रेतीले नीति–नियमको पूर्ण पालना गर्दै संस्था सञ्चालन गरे कुनै समस्या नआउने बताए । सहकारी संस्थाहरू सक्षम भए मात्रै बैंक पनि सक्षम हुने उल्लेख गर्दै उनले सहकारी बैंकलाई सबैको भरोसायोग्य वित्तीय संस्था बनाउने दिशामा वर्तमान नेतृत्व प्रतिबद्ध रहेको बताए ।
नेफ्स्कूनकी पूर्व केन्द्रीय सदस्य गोमा नेपालले सहकारी अभियानमा सकारात्मक कामहरू पनि भइरहेको भए पनि नकारात्मक पक्षको मात्रै बढी चर्चा हुने प्रवृत्तिले अभियानप्रति गलत सन्देश गएको बताइन् । उनले अभियानमा भएका कमजोरी पहिचान गरी सुधार गर्दै अघि बढ्नुपर्नेमा जोड दिइन् ।
राष्ट्रसेवक साकोसका अध्यक्ष जीवन काफ्लेले एउटा सहकारी संस्थामा समस्या आउँदा त्यसको असर समग्र सहकारी अभियानमा पर्ने भएकाले आफू आबद्ध संस्थालाई कसरी उत्कृष्ट बनाउने भन्ने सोच सबैमा हुनुपर्ने बताए ।
संस्थाका सचिव ओम सुवेदीले सहकारी अभियानमा आवश्यक बहस र छलफल प्रारम्भिक सहकारीहरूले अघि बढाइरहेको अवस्थामा अभियानको नेतृत्व तहले पनि यस्ता कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताए । सहकारी अभियन्ताहरूको नेतृत्वमा सम्बन्धित क्षेत्रका सहकारीका अध्यक्ष तथा व्यवस्थापकबीच नियमित छलफल भए अभियान अझ प्रभावकारी बन्ने उनको भनाइ थियो ।
कार्यक्रममा मोरङ जिल्लाका विभिन्न सहकारी संस्थाका अध्यक्ष तथा व्यवस्थापकहरूको सहभागिता रहेको थियो । सोही अवसरमा राष्ट्रसेवक साकोसले सहकारी बैंकको अध्यक्षमा निर्वाचित लक्ष्मि प्रसाद उप्रेतीलाई सम्मान समेत गरेको थियो ।
Leave a comment