काठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सिजेएन)ले संघीय सहकारी विभागको सहयोगमा बुधबार बानेश्वरमा ‘सहकारी क्षेत्रले उत्पादनमा खेलेको भूमिका र झेल्नुपरेको समस्या’ विषयमा अन्तक्र्रिया तथा छलफल भएको छ । छलफलमा राज्यले उत्पादन, प्रशोधन र बजारीकरणमा सहकारीको भूमिका बृद्धि गर्नका लागि नीतिगत तथा कानुनी सहजीकरण गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् ।
उत्पादन सहकारीलाई सहकारी अभियान र सरकारी निकायका प्रतिनिधिहरुले नीतिगत सुधारमा जोड दिनुपर्ने धारणा राखेका छन् । कार्यक्रममा पशु पन्छी तथा मत्स्य पालन केन्द्रीय सहकारी संघका अध्यक्ष बाबुराम अधिकारीले राज्यका सबै निकायको ध्यान बचत तथा ऋण सहकारीमा देखिएको समस्यामा केन्द्रित भएकाले उत्पादन सहकारी ओझेलमा परेको बताए ।
उनले विगतमा सहकारी विभाग र तत्कालीन राष्ट्रिय सहकारी विकास बोर्डले उत्पादन सहकारीलाई दिनेगरेको अनुदान कार्यक्रम रोकिएकाले पनि सहकारीलाई उत्पादनमा जान समस्या परको बताए । सहकारीले आर्जन गरेको मुनाफाको पैसा जम्मा गरेर खडा गरेको सहकारी प्रवद्र्धन कोषको रकम सरकारले अपचलन गरेको आरोप समेत लगाए ।
‘सहकारी प्रवद्र्धन कोषको रकम किन अहिलेसम्म वितरण नभएको हो ?’, उनले भने, ‘सरकारले संघहरुलाई वितरण नगर्ने भए सहकारीलाई फिर्ता गरिदिनुपर्छ । रोकेर राख्न मिल्दैन ।’ कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै केन्द्रीय दुग्ध सहकारी संघका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले निर्वाहमूखी पशुपालन, उत्पादित दुधको संरक्षण गर्नका लागि आधुनिक उपकरणको अभाव र कुलिङ ट्रान्सपोर्टेसनको कमीले दुग्ध सहकारीमा आवद्ध किसानहरु समस्यामा पर्नेगरेको बताए ।
उनले दुधको मूल्यमा हुने अस्थिरता, बिमामा विद्यमान असहजता तथा अपर्याप्तता, माग र आपूर्ति बीच असन्तुलन, पशु स्वास्थ्य र रोगको समस्या, दुर्गम क्षेत्रमा परिवहन र भण्डारको समस्याले पनि चुनौती उत्पन्न गरेको बताए ।
त्यसैगरी केन्द्रीय चिया सहकारी संघका उपाध्यक्ष प्रेम घिमिरेले हाल ५ ओटा जिल्ला स्तरीय संघहरु मार्फत १४ जिल्लाका १ सय भन्दाबढी चिया सहकारी संस्थाहरु केन्द्रीय संघमा जोडिएको जानकारी दिए । संघमा जोडिएका ९ हजार १ सय घरधुरी परिवारले ५ हजार हेक्टर जमिनमा चिया खेती गरेको र सदस्य सहकारीले २१ उद्योग संचालन गरिरहेको जानकारी दिए ।
चिया निर्यातबाट करिव ४० करोड रुपैयाँ आर्जन हुने गरेको उनको भनाइ छ । उनले सहकारी प्रशोधन उद्योग संचालन गर्नका लागि पुँजीको अभाव, अन्तर्राष्ट्रिय मान्यता प्राप्त गुणस्तर प्रमाणीकरण गर्न नसक्नु, सहकारीले उत्पान गरेको तयारी चियाको अन्तर्राष्ट्रिय बजारमा पहुँच नपुग्नु, सहकारीले संचालन गरेको उद्योगले अनुदान सहुलियत नपाउनु लगायतका समस्याले चुनौती खडा गरेको उल्लेख गरे ।
नेपाल कृषि सहकारी केन्द्रीय संघका कार्यक्रम अधिकृत कपिल गौतमले कमजोर बजार पूर्वाधार, अस्थिर बजार सम्बन्ध, सीमित मूल्य श्रृङ्खला, आर्थिक तथा लगानी सम्बन्धी सीमाहरु र क्षमता तथा प्रविधिमा रहेको अन्तरले कृषि सहकारीमा चुनौती खडा गरेको बताए ।
संघले चुनौतीका बाजजुद पनि किसानहरुलाई गुणस्तरीय बिउ, मल तथा कृषि सामग्रीको सहज उपलब्धता, कृषि ऋण तथा वित्तीय सेवामा पहुँच बृद्धि, कृषि प्रविधि, तालिम तथा क्षमता विकास, उचित बजार व्यवस्थापन लगायतका विषयमा सहयोग गर्दै आएको उनले बताए । सिजेएनका अध्यक्ष अर्जुन खतिवडाको सभापतित्वमा आयोजित कार्यक्रम सचिव माधव खड्काले संचालन गरेका थिए भने उपाध्यक्ष नमिता दुलालले धन्यवाद ज्ञापद गरेकी थिईन ।
Leave a comment