पत्रकारलाई सहकारी पत्रकारिता तालिम

पत्रकारलाई सहकारी पत्रकारिता तालिम :: Sahakari Akhabar

काठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सिजेएन)ले पत्रकारहरुलाई सहकारी पत्रकारिता तालिम दिएको छ । समाजले बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) को सहकार्यमा एकदिने पत्रकारिता तालिम प्रदान गरेको हो ।

तालिम प्रोस्कूनका प्रमुख कार्यकारी अधिकृत केशव प्रसाद दाहाल र नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले प्रशिक्षण गरेका थिए । सीजेएनका अध्यक्ष अर्जुन खतिवडाको सभापतित्वमा काठमाडौंमा सम्पन्न तालिममा विभिन्न सञ्चारगृहमा आवद्ध २५ जना पत्रकारको सहभागिता रहेको थियो ।

कार्यक्रममा बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटाले पछिल्लो समय सरकारले अध्यादेशमार्फत् सहकारी क्षेत्रलाई कस्दै लगेको बताए । उनले अध्यादेशले संघहरुले गर्दैआएको वित्तीय कारोबारलाई ३ वर्षभित्र पूर्णरुपमा बन्द गर्नुपर्ने व्यवस्था प्रति असहमति जनाए ।

सहकारी स्वायत्त संस्था भएको र यसको मूल्य, मान्यतालाई मास्नेगरी सरकारले ऐनकानुन ल्याउन नहुने उनको भनाई छ । तीन बर्ष भित्र कारोबार बन्द गर्नुपर्ने व्यवस्थाले संघहरुले गर्दै आएको ९० अर्ब भन्दा बढीको वित्तीय कारोबार जोखिममा पर्ने उनले बताए ।

मूलुकभर ३१७ संघहरु क्रियाशील रहेको र संघहरु बन्द हुँदा आर्थिक मन्दी आउन सक्ने उनको दावी छ । संघहरुले सदस्य संस्थाको क्षमता विकास, शुद्धिकरण, व्यवसायिकरण र ब्राण्डिङ कार्यक्रममार्फत् सबल बनाउँदै आएकाले मूलुकमा संघहरुको आवश्यकता रहेको उनको तर्क छ।

कार्यक्रममा बागमती प्रोस्कूनका बरिष्ठ उपाध्यक्ष जिवसराज खड्काको समेत उपस्थिति रहेको थियो  । कार्यक्रम सिजेएनका सचिव माधव खड्काले संचालन गरेका थिए भने उपाध्यक्ष नमिता दुलालले धन्यवाद ज्ञापन गरेकी थिइन् ।



Leave a comment