चन्द्रागिरि साकोस २५ वर्ष पुरा 

चन्द्रागिरि साकोस २५ वर्ष पुरा  :: Sahakari Akhabar

काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले स्थापनाको २५ वर्ष पुरा गरेको छ । स्थापना दिवसको सन्देश दिंर्दै संस्थाका अध्यक्ष शिवशंकर मानन्धरले स्थापनाकालमा २५ जना व्यक्ति र २५ हजार रकमबाट एक आपसको गर्जो टार्ने र थोरैथोरै बचत गर्ने बानीको विकास गर्ने साधारण उद्देश्यबाट स्थापना भएको जनाएका छन् ।

उनले आजका दिनमा संस्थामा २३ हजार ६८७ जना सदस्य र ३ अर्ब ७८ करोडको वासलत पुगेको जनाएका छन् । अध्यक्ष मानन्धरले थानकोटको ग्रामीण क्षेत्रमा सहकारी वित्तीय सेवा मार्फत जीवनस्तर परिवर्तनको लागि काम गर्ने अभिलाषालाई सधै जिवित राखेको जनाएका छन् ।

संस्थाले काठमाडौं, ललितपुर र धादिङका जनताहरूलाई समुदायमा आधारित र सदस्य केन्द्रित सहकारी सेवा पुर्याउन सफल भएको उनको भनाइ छ । विभिन्न आरोह र अवरोहहरूका विच संस्थाको दीर्घकालीन वित्तीय स्थिरता र सदस्यलाई समयमै सेवा, सम्मानजनक व्यवहार, गुनासो र सुझावहरूको उचित संम्वोधन सहित सुखद सदस्य अनुभव कायम गर्दै अगाडि बढ्न सफल भएको अध्यक्ष मानन्धरको भनाइ छ ।

त्यसैगरी महिला, युवा तथा विभिन्न क्षेत्रका सदस्यहरूको समावेशीपूर्ण नेतृत्व, कार्यगत सक्षमता र पेशागत दक्षता रहेका व्यवसायिक कर्मचारीको सदस्यमुखी सेवा, डिजिटल रूपान्तरण तर्फ संस्थाको अग्रसरता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका छातासंघहरूको मार्गदर्शन तथा नियामक निकायहरूको समय समयको निर्देशन कार्यान्वयनको कारण संस्था इतिहासकै कठिन मोडमा समेत आफुलाई बलियो संस्थाका रूपमा उभ्याउन सफल भएको उनले बताए ।

सदस्यहरूको शेयर पुँजी र बचतलाई सुरक्षित तवरले तोकिएको दायराभित्र रहेर ऋण लगानी गर्ने, लगानी भएको ऋणको समयमै असुली गर्ने कार्यलाई प्राथमिकता दिने, नियामक निकायले तोकेको विवेकशील मापदण्डहरूको पालना गर्ने र सदस्यहरूको आर्थिक सशक्तिकरण संगै औषधोपचार, सुरक्षित मातृत्व, दुर्घटना, घातक रोग, मृत्यु लगायत आकस्मिक अवस्थामा एम्बुलेन्स तथा शव वाहनको व्यवस्था सहित सदस्यहरूको सामाजिक सुरक्षाको प्रत्याभुतिमार्फत सानो अंशमा भएपनि गरिबी न्यूनीकरणमा प्रयास गरेको संस्थाको दावी छ ।

त्यसैगरी आर्थिक रूपमा कमजोर, असहाय र जेहेन्दार विद्यार्थीहरूलाई उच्च शिक्षा हासिल गराउने उद्देश्यले चन्द्रागिरि उच्च शिक्षा छात्रवृत्ति कार्यक्रम, सदस्यहरूलाई सफा पिउने पानीको लागि धारा जडान कार्यक्रम, साना तथा मझौला उद्यम प्रवद्र्धनमा सदस्यहरूलाई उत्प्रेरणा र सहयोग जस्ता कार्यक्रमले सहकारीको मूल्य र सिद्धान्तभित्र रहेर चन्द्रागिरि अगाडि बढिरहेको उनले बताएका छन् ।

सबै सहकारी संस्थाहरू एकै खालका हुँदैन र सहकारी मार्फत समुदायको आर्थिक सशक्तिकरण गर्न सकिन्छ भन्ने उदाहरण हामीले दिने प्रयास गरेका छौं, उनले भने । प्रविधिको समुचित उपयोगद्वारा सदस्य सेवामा डिजिटल रूपान्तरण तर्फ हाम्रो यात्रा थप प्रभावकारी ढंगले अगाडि बढ्ने, सदस्य पहिलो प्राथमिकता, जवाफदेहीता, पारदर्शिता, एकता, विश्वास, उत्कृष्टता र अनुशासन मूल्य हुने संस्थाको प्रतिवद्धता छ ।



Leave a comment