काठमाडौं । बौद्ध टुसालमा मुख्य कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरण र कर्जा सूचनाकेन्द्र दुबैको सदस्यता प्राप्त गरेको छ । संस्थाले प्राधिकरणको इजाजतपत्र पाएसंगै कर्जा सूचना केन्द्रको पनि सदस्यता लिएको हो । संस्थाले चैत १ गते नियमन प्राधिकरणबाट संचालन इजाजतपत्र प्राप्त गरेको थियो भने कर्जा सूचना केन्द्रमा चैत १८ गते आवद्ध भएको हो।
काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कार्यक्षेत्र रहेको नेचुरल साकोसले प्राधिकरणको इजाजतपत्र नं २०६५–०१६७० प्राप्त गरेको छ भने सूचनाकेन्द्रले सिओपी ४६६ दर्ता नं प्रदान गरेको छ । बचत ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाले अनिवार्यरुपमा प्राधिकरणबाट संचालन इजाजतपत्र लिनुपर्ने र कर्जा सूचनाकेन्द्रमा आवद्ध हुनुपर्ने सहकारी ऐनले व्यवस्था गरेको छ।
बचत ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्था पहिला प्राधिकरणमा दर्ता भएपछि मात्र कर्जा सूचनाकेन्द्रको सदस्यता पाउने व्यवस्था सरकारले गरेको छ । सोही अनुरुप यस सहकारी संस्था दुवै निकायमा दर्ता भएको हो ।
कर्जा सूचनाकेन्द्रको सदस्यता लिएपछि सहकारीहरुले पनि कर्जा मागगर्ने सदस्यहरुको आर्थिक क्रियाकलापको अध्ययन एवं विश्लेषण गर्न सहज हुनुका साथै सहकारीबाट ऋण लिएर नतिर्ने र लामो समयदेखि भाखा नघाएर बस्ने ऋणी सदस्यलाई कालो सूचीमा राख्ने समेतका प्रकृया अगाडी बढाउन सकिने भएको संस्थाका प्रवन्ध निर्देशक विकल्प पाठकको भनाइ छ।
१५ हजार १४६ जना कूल सदस्य तथा १ हजार २८० जना ऋणी सदस्य रहेको संस्थाको २ अर्ब १३ करोड ६६ लाख ६६ हजार २०० रुपैंयाँ ऋण लगानीमा रहेको जनाइएको छ । त्यसैगरी संस्थामा १६ करोड ५२ लाख ४० हजार ६०० रुपैंयाँ शेयर पूँजी, १२ करोड ८० लाख ३ हजार ६९६ रुपैंयाँ जगेडा कोष र १३ करोड ३२ लाख ९४ हजार ५७४ रुपैंयाँ अन्य कोष रहेको छ।
त्यसैगरी २ अर्ब ३७ करोड ९१ लाख ४० हजार ६६५ रुपैंयाँ बचत रहेको संस्थाको कूल सम्पत्ति ३ अर्ब ३१ करोड ५८ लाख २१ हजार ६२१ रुपैंयाँ र १२ करोड ९० लाख ४३ हजार ६१९ रुपैंयाँ संस्थागत पूँजी रहेको प्रवन्ध निर्देशक पाठकले जानकारी दिए।
प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरुको दर्ता, अभिलेखीकरणका लागि चेत १७ गतेसम्मको समय सिमा तोकेको थियो, उक्त मितिसम्म प्राधिकरणमा १० हजार ६ सय संस्था आवद्ध रहेको जनाइएको छ।
Leave a comment