काठमाडौं । ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा भक्तपुरमा प्रभाफेरी कार्यक्रम सम्पन्न भएको छ । संघको आयोजनामा भएको भक्तपुर, सूर्यविनायक र चाँगुनारायण नगरस्तरीय सहकारी प्रभातफेरी समापन समारोहमा संघमा आबद्ध सहकारी अभियानमा अनुकरणीय कार्य गर्ने संस्थाहरूलाई वर्षका उत्कृष्ट संस्था घोषणा गरेको थियो ।
उत्कृष्ट हुने संस्थाहरुमा जिल्लास्तरीय उत्कृष्टमा पारिजात बचत तथा ऋण सहकारी, सूर्यविनायक, भक्तपुर नगरस्तरीयमा भक्तपुर बचत तथा ऋण सहकारी, मध्यपुरथिमि नगरस्तरीयमा सिद्धार्थ बचत तथा ऋण सहकारी मध्यपुरथिमि, सूर्यविनायक नगरस्तरीयमा सिमल बचत तथा ऋण सहकारी सूर्यविनायक र चाँगुनारायण नगरस्तरीयमा झझल्को बचत तथा ऋण सहकारी चाँगुनारायण रहेका छन् ।
जिल्लाका जिल्ला सहकारी संघ, जिल्ला कृषि सहकारी संघ, जिल्ला बहुउद्देश्यीय सहकारी संघ र सम्वन्धित नगरपालिको समन्वयमा ६९ औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा प्रभातफेरी कार्यक्रम गरिएको हो । कार्यक्रममा भक्तपुर नगरमा ७० वटा, मध्यपुर थिमि नगरपालिकामा ९० वटा, सुर्यविनायक नगरपालिकामा ५४ वटा र चाँगुनारायण नगरपालिकामा ३७ वटा संस्थाबाट सहकारीकर्मीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सहकारी संस्थामा जनताले जम्मा गरेको बचत रकम ठगी गर्ने सञ्चालक तथा पदाधिकारीहरूको निजी सम्पत्ति जफत गरेरै भएपनि फिर्ता गर्नुपर्ने बताएका छन् । ‘प्रभाफेरी तथा समापन समारोह’लाई सम्बोधन गर्दै प्रमुख प्रजापतिले राज्यको ढुकुटीबाट नभई ठगहरूकै जायजेथाबाट पीडितको आँसु पुछ्नुपर्ने बताए ।
नगर प्रमुख प्रजापतिले सहकारी पीडितहरूको समस्या सम्बोधन गर्न नगरपालिका तयार रहेको उनले बताए “सामान्य नागरिकबाट नभई ठूला बडा र सरकार चलाउनेहरूबाटै सहकारीमा ठगी भएको छ । यस्ता ठगहरूलाई अनुहार हेरेर होइन, कानुन बमोजिम कडा कारबाही हुनुपर्छ, उनले भने ।
जोसुकै पहुँचवाला भए पनि बचतकर्ताको पैसा फिर्ता नगर्नेलाई छोडिने छैन ।“उनले राज्यको कोषबाट अनुदान दिएर बचत फिर्ता गर्नु भन्दा अपचलन गर्ने कर्मचारी र पदाधिकारीबाटै असुल उपर गराउनु न्यायोचित हुने बताए । राज्यले गर्नुपर्ने काम सहकारीले गरिदिँदा पनि राज्यले उचित संरक्षण दिन सकेको छैन,उनले भने ।
मध्यपुर थिमि नगरपालिकाले आयोजित प्रभातफेरी समापन समारोहमा नगर प्रमुख सुरेन्द्र श्रेष्ठले थिमि नगरपालिकाको सहकारी ऐनमै समस्याग्रत समिति गठन गर्न सक्ने व्यवस्था बमोजिम सहकारी समस्याग्रस्त समिति गठन गरी कार्य शुरुगरी १० हजार सम्मको बचत फिर्ता गरेको जनाए ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको चाँगुनारायण नगर सहकारी समन्वय समितिको आयोजनामा भएको प्रभातफेरी समापन समारोहमा नगर प्रमुख जिवन खत्रीले चाँगुमा सहकारीको संख्या तुलानात्मक रुपमा कम भएकोले समस्या नभएको बताए । उनले सहकारीको समस्या नियमनकारी निकाय एक्लैले समाधान गर्न नसक्ने भएकोले अभियान र नियमनकारी निकाय संगै मिलेर समाधन गर्नुपर्नेमा बताए ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको सूर्यविनायक नगर सहकारी समन्वय समितिको आयोजनामा भएको प्रभातफेरी समापन समारोहमा नगर उपप्रमुख सरिता भट्टराईले संविधानमा सहकारीलाई तीन खम्बे अर्थ नीति भित्र राखे पनि प्राथकितामा नराख्दा सहकारीमा समस्या बल्झिएको बताइन ।
संघका अध्यक्ष हरिकृष्ण बल्लले चाँगुनारायण नगरस्तरीय प्रभातफेरी कार्यक्रममा सम्बोधन गर्दै सहकारीमा बहु नियमनका कारण सहकारीमा नियमन प्रभावकारी बन्न नसकेकोले एकद्धार प्रणलीबाट सहकारीको नियमन गर्नुपर्ने बताए । जिल्ला सहकारी संघका अध्यक्ष ध्रुव बहादुर रायमाझीले सहकारीमा उद्यमशीलता र पारदर्शिता कायम गराउन गर्नसक्ने गतिविधिहरुको बारेमा चर्चा गरे ।
जिल्ला बचत संघका संस्थापक अध्यक्ष राजेन्द्र दुमरुले जिल्लाको सहकारी अवस्थाबारे प्रकाश पार्दै २०१३ चैत २० गते नेपालमा पहिलो सहकारी स्थापना भएको स्मरण गरे । संस्थापक अध्यक्ष दुमरुले देश विकासका लागि सहकारीले गरेको ठोस कार्यको सूची सरकारले दिन नसकेकोमा गुनाँसो गरे ।
‘उद्यमशीलता र पारदर्शिताः सहकारीको प्राथमिकता’ भन्ने नाराका साथ सम्पन्न भक्तपुर नगरमा भएको सहकारी प्रभातफेरी कार्यक्रमको सभापतित्व उपाध्यक्ष जगन्नाथ प्रजापतिले गरेका थिए । उनले बैंक र वित्तीय संस्थाको रूपमा मात्र नभई सहकारीलाई सामाजिक उत्तरदायित्व र मूल्यमान्यताका आधारमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।
संघका संचालक एवं चाँगुनाराण नगर सहकारी समन्वय समितिका संयोजक चण्डिका छुँकाले सहकारी ऐन २०७४ अनुसार कर्जा असुली न्यायाधिकरण गठन भई न्यायाधिकरणले कार्य सुचारु गरिसकेकोले सहकारी क्षेत्रको ऋण असुलीको समस्यालाई कानुनी समाधानको बाटो मजबुद हुने अपेक्षा गरे ।
संघका संचालक एवं सुर्यविनायक नगर सहकारी समन्वय उपसमितिका संयोजक विवेक श्रेष्ठले राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा विभिन्न कारणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने धेरै सहकारी संस्थाहरु अभिलेखिकरणमा छुट भएकोले दर्ता अभिलेखिकरणको बाटो खुल्ला नै राख्नुपर्ने बताए ।
Leave a comment